नेपाली मिडिया र कुटनीति (भिडियाेसहित)

  • शुभेच्छा विन्दु

भूकम्प लगत्तै नाकाबन्दी । कोरानाको बीचमै भूमि अतिक्रणम । ‘असल छिमेकी’ भारतले नेपाललाई दिएको उपहार हो यो । नेपालले लिम्पियाधुरा समेत समेटिएको आफ्नो वास्तविक भौगोलिक नक्शा सार्वजनिक गर्ने बित्तिकै भारतीय मिडियाले नेपाल विरुद्ध जुन विषवमन ग¥यो, त्यो देखेर नेपाली जनताको मन आन्दोलित भएको छ ।

नेपालको सीमा क्षेत्रको विषयलाई लिएर भारतीय सञ्चार माध्यमहरुले एकतर्फी रुपमा अनर्गल प्रचार प्रसार गर्न थालेपछि सार्वभौम नेपाली जनतामा राष्ट्रियताको भावना जागेको छ । भारतीय मिडियाले गरेको एकनाले प्रहारबाट आजित भएपछि स्वाभाविक रुपमा नेपाली जनताले पनि नेपाली सञ्चार माध्यमसँग लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत नेपालको भूमि सम्बन्धमा आक्रमक ढंगबाट मुद्दा उत्थान गरिदिओस् भन्ने चाहना राखेको देखिन्छ । भारतीय सञ्चार माध्यमले जस्तै पत्रकार आचारसहिंता विपरीत भारतलाई आक्रामक प्रतिउत्तर देओस् भन्ने पनि धेरैको भावना थियो ।

भारतीय सञ्चार माध्यमले नेपालमाथि एकतर्फी ढंगले जसरी प्रहार ग¥यो, त्यसको प्रतिक्रिया स्वरुप नेपाली सञ्चार माध्यमले पनि त्यही स्तरको प्रहार गरोस् भनी आक्रोशित जनस्तरबाट नेपाली सञ्चार माध्यमसँग अपेक्षा गर्नु आफैमा गलत भने होइन । भारतीय मिडिया, खास गरी केही टेलिभिजन, सूचना प्रवाह मा विश्वासिलो देख्न सकेन । नेपालीको कुरा छोडौं स्वयम् भारतीय बुद्धिजीवीहरु समेत भारतलाई भारतीय मिडियाबाट बचाउ भनिरहेका छन् ।

यति हुँदाहुँदै पनि नेपाली मिडियाले भारतीय मिडियाकै जस्तो रवैया भने समाएन । आफूलाई अत्यन्त संयमताको सीमा रेखाभित्र राखे । के होला यसको वास्तविकता ? तथ्य र प्रमाणको आधारमा समाचार संप्रेषण गरेर भारतलाई त्यसको जवाफ दिनु नेपाली मिडियाको पहिलो धर्म हो । तर भारतीय मिडियालाई गालीगलौजले होइन तथ्य, तर्क र प्रमाणको आधारमा रोक्नु पर्छ । उनीहरुले जस्तै विना कुनै आधार, एकपक्षीय ढंगले पत्रकारिताका सम्पूर्ण मूल्य मान्यतालाई तिलाञ्जली दिँदै तल्लोस्तरले गाली गलौजपूर्ण सामाग्री प्रशारण गर्ने हो, भने त्यसले नेपाली पत्रकारिताको साख गिर्ने त छँदैछ, साथै भारतसँग गर्नुपर्ने तर्कपूर्ण लडाइँलाई पनि कमजोर बनाइदिन सक्छ । नेपाली पत्रकारिता त्यो अधर्मी मोर्चामा उभिन सक्दैन र उभिनु हुँदैन पनि ।

वर्तमान अवस्थामा केही वस्तुगत अवस्थाले गर्दा नेपाली सञ्चार माध्यमले पर्याप्त समाचार सम्प्रेषण गर्न नसकेको यथार्थ पनि हो । यथार्थ सामू ल्याउन नेपाली मिडियाले प्रयास नगरेको होइन । तर नेपालका केही राजनीतिज्ञ, कुटनीतिज्ञ र समाजमा आफूलाई अगुवाको रुपमा चिनाउन चाहने व्यक्तिहरुले भारत छिमेकी राष्ट्र भएकोले अहिले बोल्न नमिल्ने भन्दै पन्छिएर आफूलाई चोखो राख्न खोजेका कारणले गर्दा पनि नेपाली मिडिया सही सूचना प्रवाहमा संकुचित बन्न पुग्यो । यति मात्र होइन, सरकारी अधिकारीहरु, पूर्व प्रशासकहरु, नेपाल–भारत सीमाबारे जानकार राख्ने विज्ञहरुले पनि यति बेला यस विषयमा आफ्नो स्पष्ट धारणा राख्न चाहेनन् ।

अरु बेला भोकल भई हिँड्ने केही राजनीतिक, सामाजिक व्यक्तिहरुलाई पनि यस विषयमा सञ्चार माध्यममा बोल्न लगाउन यस पाली कसरत नै गर्नु पर्ने अवस्था आइप¥यो, जसले गर्दा नेपाली मिडियाले जनताले चाहे जस्तो भारतीय सञ्चार माध्यमलाई तर्क, प्रमाण र तथ्यको बलमा आक्रमक जवाफ दिन सकेन । उता भारतमा भने सबै प्रकारका व्यक्तिहरुले सञ्चार माध्यम मार्फत आ–आफ्नो विचार अभिव्यक्त गरिरहे । जसले गर्दा भारतीय सञ्चार माध्यमहरुले जोशजोशमा दिनभर जसो एकोहोरो समाचार सम्प्रेष गर्न समर्थन बने ।

नेपाललाई गाली गर्न रुचाउने जोकोहीलाई पनि स्थान दिइरहे । तर नेपाली सञ्चार माध्यम भने तथ्य, तर्क र प्रमाणका आधारमा विचार प्रस्तुत गर्ने विज्ञहरुको अभावले गर्दा कोरा गालीगलौजलाई मात्र आफ्नो सामग्री बनाउन सकेनन् । यसको अर्थ सीमा मुद्दामा नेपाली मिडिया मौन नै बसेको भन्ने होइन । नेपाली मिडियाको संयमपूर्ण जवाफ नेपाली जनताको आक्रोश शान्त गर्ने अनुरुप हुन सकेन, यति मात्रै हो ।

यो लेख लेखकको निजी विचार हो

By:

सोमबार, १२ जेठ २०७७

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!