‘आइसोलेसन बनाउन सक्दैनौ, संक्रमितलाई प्रदेश सरकारले लैजाओस्’

परासी, ११ जेठ । आइसोलेसन नहुँदा पश्चिम नवलपरासीका दुई संक्रमित २ दिनदेखि क्वारेन्टाइनमै बस्न बाध्य छन् । स्थानीय तह र प्रदेश सरकार कसैले पनि उनीहरुलाई आइसोलेसनमा पठाउन वास्ता गरेको छैन । उनीहरु संक्रमितले पाउने उपचार सेवाबाट समेत वञ्चित छन् । संक्रमित भएको जानकारी पाएका उनीहरुलाई थप उपचारका लागि आइसोलेसनमा नपठाउँदा मानसिक रुपमा त्रसित हुन थालेका छन् ।

नगरपालिकाले आइसोलेसन निर्माण गर्ने जिम्मेवारी प्रदेश सरकारको भएकाले आफूहरुले बनाउन नसक्ने जनाएपछि संक्रमित बिचिल्लीमा परेका हुन् ।

शुक्रबार बिहान जिल्लामा थप ३ जना संक्रमित देखिएका थिए । तिमध्ये रामग्राम नगरपालिकामा देखिएका दुई संक्रमितलाई परासीस्थित आदर्श माविको क्वारेन्टाइनमा राखिएको छ । सुस्ता गाउँपालिकामा देखिएका संक्रमितलाई भने गाउँपालिकाले भीम अस्पताल भैरहवाको आइसोलेसनमा पठाएको छ ।

संक्रमितलाई राखिएपछि शुक्रबार राति क्वारेन्टाइनमा राखिएका अन्यले संक्रमण फैलिने भन्दै अन्यन्त्र लैजानु पर्ने माग राखेर नाराबाजी गरेका थिए । क्वारेन्टाइनमा संक्रमितसहित ३२ जना छन् ।

तराईका जिल्लामा २ सय पहाडमा ५० बेडको आइसोलेसन बनाउने प्रदेश सरकारले नीतिगत निर्णय गरेको छ । सरकारले नीतिगत निर्णय गरेकाले आफूहरुले आइसोलेसन बनाउन नसकिने रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले बताए । संक्रमितलाई अहिलेसम्म व्यवस्थापन गर्न नसक्नु दुःखद भएको भन्दै संक्रमितको जिम्मा प्रदेश सरकारले लिनुपर्ने नगरप्रमुख गुप्ताको भनाई छ ।

जिल्लामा संक्रमितको संख्या ५ पुगेको छ । जिल्लामा आइसोलेसन नभएकाले अन्य तीन जनालाई भीम अस्पताल भैरहवामा पठाइएको छ । उनीहरु सबै भारतबाट आएका हुन् ।

शनिबार बिहानसम्म क्वारेन्टाइनमा बस्नेको संख्या ८ सय ३८ रहेको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए । जिल्लामा अहिले पनि भारतबाट आउनेको संख्या बढ्दो छ ।

By:

आइतबार, ११ जेठ २०७७

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!