कोलकाता बन्दरगाहमा बीमा कम्पनीको एकाधिकार अन्त्य, बीमा शुल्क ३०० बाट ५० भन्दा कममा आउने | ईमाउण्टेन समाचार

Our Network

मंसिर ६ २०८१, बिहीबार

कोलकाता बन्दरगाहमा बीमा कम्पनीको एकाधिकार अन्त्य, बीमा शुल्क ३०० बाट ५० भन्दा कममा आउने

kalakatta

काठमाडौं, २७ भदौ । कोलकाता बन्दरगाहमा त्यहाँको सरकारी बीमा कम्पनीको एकाधिकार तोडिएको छ । तेस्रो मुलुकबाट नेपालका लागि आउने कार्गोमा यसअघि सरकारी बीमा कम्पनीको एकाधिकार रहेकोमा बन्दरगाह भन्सारले बिहीवार अन्य कम्पनीलाई खुला गरेको हो ।

कोलकाता भन्सारको यो निर्णयसँगै अब नेपाली कार्गोमा बीमाको खर्च घट्ने आयातकर्ताले बताएका छन् । कोलकाता र हल्दियाबाट नेपालका लागि रेल र सडकमार्गबाट जाने कार्गोमा यसअघि नेशनल इन्सुरेन्स कम्पनी लिमिटेडलाई एकाधिकार प्राप्त हुने गरी प्रावधान मिलाइएको थियो । भन्सारको पछिल्लो निर्णयले नेपाली कार्गोको बीमा प्रक्रिया सहज हुने कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले बताए । ‘बीमा कम्पनीबीच प्रतिस्पर्धा भएपछि स्वाभाविकरुपमा बीमाबापत लाग्ने खर्च कम हुन्छ,’ महावाणिज्यदूत अर्यालले आर्थिक अभियानसित भने ।

नेपाल उद्योग वाणिज्य महासंघ स्थल यातायात तथा पारवहन समितिका अध्यक्ष अशोककुमार टेमानीले बीमामा गरिएको पछिल्लो व्यवस्था सकारात्मक भएको टिप्पणी गरे । एउटा कम्पनीको एकाधिकार हटाएर अन्यलाई प्रतिस्पर्धा खुला गरिएपछि स्वाभाविकरुपमा बीमाको लागत घट्ने टेमानीको भनाइ छ । सडकमार्गबाट ढुवानी हुने कार्गोमा सरकारी बिमा कम्पनीको एकाधिकार कायम रहँदा प्रतिलाख भारतीय रुपैयाँ (भारु) ३०० बीमा शुल्क लाग्ने गरेको थियो । अब यो खर्च भारु ५० भन्दा माथि नजाने दाबी नेपाल कस्टम हाउस एजेन्ट संघ कोलकाताका सदस्य कमलकिशोर मन्त्रीले गरे ।

यो व्यवस्थासँगै नेपाली आयातकर्ताले कुनै पनि भारतीय बीमा कम्पनीबाट कार्गोको बीमा गराउन सक्ने भएका छन् । तेस्रो मुलुकबाट आउने कण्टनेर कार्गोमध्ये अहिले पनि आधाभन्दा बढी सडकमार्गबाट ढुवानी हुन्छ । यो समाचार अभियान दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);