काठमाडौं, १५ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेकी छन् । चीनको ९ दिने राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीले आइतवार चिनियाँ राजदूतावास र चीन वाणिज्य शेयर बजारले बेइजिङमा गरेको एक कार्यक्रममा सम्बोधन गर्दै नेपालमा लगानीको वातावरण रहेको भन्दै ढुक्क भएर लगानी गर्न तथा प्रविधि हस्तान्तरण गरी फाइदा लिन चिनियाँ लगानीकर्ताहरूलाई आग्रह गरेकी छन् ।
उनले चीनियाँ उद्योगी व्यवसायीसंग नेपालमा राजनीतिक संक्रमण अन्त्य भएकाले बैदेशिक लगानी भित्रिन कुनै समस्या नरहेको समेत उल्लेख गरिन् । सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले लगानी गर्नका लागि नेपालमा इतिहासकै सबैभन्दा बलियो र स्थिर सरकार बनेको बताइन् ।
उनले गत महिना काठमाडौंमा भएको लगानी सम्मेलनमा चिनियाँ उद्यमीको सबैभन्दा ठूलो उपस्थिति रहेको स्मरण गर्दै लगानीको सुरक्षालाई सरकारले आफ्नो जिम्मेवारीका रूपमा लिएकाले चिनियाँहरूलाई नेपालमा लगानीको सहजीकरण गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरिन् ।