बिमल जैरु
डडेल्धुरा, १२ बैशाख । केही दिन यता परेको असिना पानीले डडेल्धुराको अजयमेरु गाउँपालिकाका करिव आधा दर्जन गाउँका किसानहरुको अन्न, तरकारी, फलफूल बाली नष्ट भएको छ । मेहेनत गरेर उब्जाएको अन्न बाली घरमा भित्र्याउने समयमा असिना पानीले माटोमा मिलाइदिएपछि स्थानीय किसानहरु मर्कामा परेका छन् ।
डडेल्धुरा अजयमेरु गाउँपालिकाका किसानहरुले लगाएको गहुँ लगायतका खाद्यान्न बाली, फलफुल तरकारीवालीहरु असिना पानीले नष्ट गरेपछि करोडौँको क्षति भएको छ । आफुले मेहेनत गरेर उब्जाएका अन्नवालीलाई भित्र्याउने समयमा असिना पानीले नष्ट गरेपछि यहाँका किसानहरु बिचल्लीमा छन् ।
जिल्लाको अजयमेरु गाउँपालिकाको वडा १, २, ३ र ४ का मगराउ, भुलकँडा, खतेडा, वचकोट, चुल्लेक लगायत आधा दर्जन गाउँमा असिना पानीले अन्नबाली गहुँ, जाैं लगायत फलफुल र तरकारीबाली पुर्ण रुपमा नष्ट पारिदिएको छ ।
भित्र्याउने समयमा खेतवारीमा लगाएको अन्न पुर्ण रुपमा नष्ट भएपछि भोकमरी हुने भन्दै किसानहरु चिन्तित भएका छन् । गहुँ, जौ पुर्ण रुपमा नष्ट हुन थालेपछि किसानहरुले बाली काटेर गाईगोरुलाई खुवाउन बाध्य भएका छन् ।
यसरी अन्नबाली लगायत फलफुल तथा तरकारीबालीहरुमा भएको क्षतिको गाउँपालिकाले अनुगमन गरेको छ । किसानहरुले भने अनुगमन मात्र नभई भएको क्षतिको केही प्रतिशत भएपनि स्थानीय सरकारको तर्फबाट राहत पाउनु पर्ने माग गरेका छन् ।
अजयमेरु गाउँपालिका उपाध्यक्ष कलावती भाडको नेतृत्वमा गएको गाउँपालिकाको टोलीले असिना पानीले क्षती गरेको स्थानमा अनुगमन गरेको छ । अनुगमन पश्चात क्षतिको विवरण लिने काम भईरहेको र क्षतिपुर्तिका लागि कार्यपालीकाको वैठकवाट निर्णय गरि छिट्टै राहत उपलव्ध गराउने उपाध्यक्ष भॉडले किसानलाई आश्वासन दिए ।
झण्डै साढे चार दशकपछि यति ठूलो असिना पानी परेको स्थानीय बासिन्दाले बताएका छन् । अजयमेरु गाउँपालीकाको लेकाली गाउँमा गहुँ प्रमुख खाद्य बालीकोरुपमा रहेको छ । अजयमेरु गाँउपालिकामा भएको यो विपद्ले किसानहरु समस्यामा छन् ।