काठमाडौं, २८ वैशाख । नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारका कारण एमालेसँगको पार्टी एकतामा शंका गर्नुपर्ने अवस्था आएको बताएका छन् ।
नेता गुरुङले प्रधानमन्त्री ओलीले एकतर्फी ढंगले अघि बढ्न खोज्दा २ पार्टीबीचको एकतामा ढिलाई हुन गएको स्पष्ट पारे । उनले २ अध्यक्ष मध्ये एक जनाले पार्टी र अर्कोले सरकारको जिम्मेवारी लिएर काम गर्ने सहमति भएको दावी गर्दै ओलीले फटाफट एक्लै निर्णय लिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले पार्टी एकतामा ढिलाई नहुने तर विश्वासको वातावरण भने बनाउनुपर्नेमा जोड दिए । नेता गुरुङले दुइ पार्टीबीच एकता हुन नदिने विदेशीहरुले चलखेल गरिरहेको भन्दै त्यसतर्फ सचेत हुन आग्रह गरे ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा भारतीय सुरक्षाकर्मीको व्यापक परिचालन गरिएकोमा पनि असन्तुष्टि व्यक्त गरे ।