प्रमुख विपक्षी कांग्रेसले आजको संसद बैठकमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रम नरोक्ने भएको छ ।
सहकारी अपचलनबारे अध्ययन गर्न संसदीय छानबिन समितिको माग पूरा नभए संसद् अवरोध जारी राख्ने अडान लिएको कांग्रेसको संसदीय दलको बैठकले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न अवरोध नगर्ने निर्णय गरेको हो ।
संयुक्त बैठकपछि बस्ने तय भएको प्रतिनिधि सभाको बैठक भने अवरोध गर्ने कांग्रेसको निर्णय छ ।
संसदीय दलको बैठक अगाडि महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकसँगको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दा अवरोध नगर्न आग्रह गरेको कारण कांग्रेस संसदीय दलको बैठकले अबरोध नगर्ने निर्णय गरेको हो ।
प्रचण्डले सहकारीको समस्या समाधान गर्ने प्रतिबद्धता पनि जनाएको कांग्रेसले बताएको छ ।
०००