कफी खेतीमा आकर्षण | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

कफी खेतीमा आकर्षण

कुस्मा, ६ माघ । पर्वत फलेवास नगरपालिका ९, भँगाराका किसानले चार वर्षदेखि व्यावसायिक रूपमा कफी खेती गर्दै आएका छन्। खेतबारीमा अन्नबाली लगाउने जनशक्ति अभाव र लगाएको अन्नबाली पनि बाँदरले खाइदिने समस्याले अधिकांश किसानले व्यावसायिक कफी खेती सुरु गरेका हुन्।

गाउँका एक सय १६ जना कृषकले खेतबारीमा अन्नबाली लगाउन छाडेर कफी रोपेका छन्। कफी खेतीका लागि प्रशस्त जमिन र उपयुक्त वातावरण भएकाले यसतर्फ किसानको मोह बढेको स्थानीय चन्द्रबहादुर थापाले बताए। उनले भने, ‘मकै, गहुँ, धानजस्ता बालीनाली लगायो, बाँदरले खाएर हैरान पार्छ, गाउँमा जनशक्ति पनि पाइँदैन, कफी लगाए वर्षको एक पटक टिप्न सहज हुन्छ’, उनले भने। झन्डै १५ रोपनी क्षेत्रफलमा कफी रोपेको र यस वर्षदेखि केही बोटमा फलसमेत लागेको उनले बताए।

कफी खेतीको विस्तार र प्रवद्र्धनका लागि कृषकले भँगरा कफी सहकारी संस्थासमेत गठन गरेका छन्। यो सहकारीमा स्थानीय एक सय १६ जना कृषक आवद्ध छन्। उनीहरूमध्ये अधिकांशका सयभन्दा बढी संख्यामा कफीका बोट छन् भने केहीले थोरै मात्रामा लगाएको थापाले जानकारी दिए।

‘वनजंगलको आडैमा प्रशस्त खाली जमिन छ, त्यहाँ तीन वर्षअघि लगाएका कफीका बिरुवा हराभरा हुन थालेका छन्’, सहकारी अध्यक्ष टीकाराम भुसालले भने, ‘यसलाई गाउँभरि नै विस्तार गर्ने योजना छ।’ कफीको मूल्य राम्रो पाइने र बिक्रीको समस्या पनि नभएकाले कृषकले अन्य पेसा छाडेर यसतर्फ लागेको उनले बताए। स्थानीयले सहकारीमार्फत कफीसँगै कुखुरापालन, बाख्रापालन र मौरीपालन व्यावसाय सुरु गरेका छन्।

कफीसँगै अलैंची खेती पनि छ। यसबाट दोहोरो आम्दानी लिन सकिने उनले जानकारी दिए। कफी खेती गर्न थालेपछि कफी संकलन केन्द्र निर्माण गर्न लागिएको छ। स्थानीय गैरसरकारी संस्था सोर्डेक नेपालद्वारा सञ्चालित गुड नेवर्स इन्टरनेसनलको सहयोगमा कफी संकलनका लागि दुईकोठे भवन निर्माण सुरु गरिएको हो। करिब १५ लाख रुपैयाँ लागतका भूकम्प प्रतिरोधी संकलन केन्द्र निर्माण कार्य सुरु भएको सोर्डेक नेपालका कार्यक्रम अधिकृत रमेशप्रसाद रिजालले जानकारी दिए।

कृषकले उत्पादन गरेको कफी, अलैंची, तरकारी, मह, खसीबोका संकलन गर्ने र एकीकृत रूपमा बजारमा पठाउने उद्देश्यले संकलन केन्द्र निर्माण गर्न लागिएको उनले बताए। उनीहरूले उत्पादन गरेका सबै बस्तु संकलन गरेर सहकारीमार्फत बिक्री गर्न बजार पठाइने भुसालले बताए। सबै कृषकले लगाएको कफी खेतीले पूर्ण रूपमा उत्पादन दिन थालेपछि वार्षिक एक करोडभन्दा बढी आम्दानी लिन सकिने रिजालले जानकारी दिए।

कृषकको सुविधालाई मध्यनजर गर्दै संस्थाले ६ लाख रुपैयाँ सहयोग गरेको छ भने बाँकी रकम सहकारी र स्थानीय कृषकको सहयोगमा जग्गा व्यवस्थापन गरेर पक्की भवन निर्माण गर्न लागिएको छ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।