काठमाडौं, २७, पुष । काठमाडौँको पुरानो वस्ती भएका भित्री सडकमा माघ २ गते देखि चार पाङग्रे सवारी साधन चलाउन नपाईने भएको छ ।
अतिव्यस्त र साँघुरा गल्ली भएको भोटाहिटी तथा असन लगायत क्षेत्रका भित्री बस्तीका सडकमा चार पाङग्रे सवारी साधन संचालन गर्न नपाईने भएको हो । पौराणिक तथा क्षेत्र विशेषको मौलिकतालाई बढ्दो सवारी चापले अतिक्रमण गरेको भन्दै काठमाडौँ महानगरपालिकाले यस्ता निर्णय गरेको हो ।
भोटाहिटीदेखि असनसम्मको दुईतर्फी सडक, इन्द्रचोक, भेडासिंह, ज्याठा, महावौद्ध तथा वटुका सडकमा चारपाङ्ग्रे सवारी प्रवेशमा पूर्ण रोक लगाईने छ । नरदेवीबाट भेडासिंह हुँदै इन्द्रचोकसम्म एकतर्फी रुपमा चारपाङ्ग्रे सवारी लैजान सकिनेछ । महानगरले मौलिकता संरक्षणका लागि भन्दै चार पाङग्रे सवारी साधन प्रवेशमा रोक लगाउने निर्णय गरेपनि त्यस क्षेत्रमा जानेका लागि सवारी साधन पार्किङ स्थलको व्यवस्थापन भने गरेको छैन ।