एजेन्सी, ३० असोज । पूर्वी भारतको झारखण्ड उच्च अदालतले बलात्कारको शिकार बनेकी १२ वर्षीय बालिकालाई गर्भपतन गराउने अनुमति दिएको छ ।
रिम्स मेडिकल बोर्डको रिपोर्ट अनुसार अदालतले बच्चीको पक्षमा फैसला गर्दै गर्भपतन गराउन अनुमति दिएको हो । बच्ची ५ महिनाकी गर्भवती छिन् । उनको मंगलबार रिम्स मेडिकल बोर्डकै रेखदेखमा गर्भपतन गराईने भएको छ ।
अदालतले बालिकालाई घर ल्याउने लाने र परिवारलाई साथ राख्ने व्यवस्था गर्न सरकारलाई निर्देशन समेत दिएको छ । बच्ची सम्पूर्ण रुपमा ठीक नभएसम्म लाग्ने खर्च व्यहोर्न पनि सरकारलाई अदालतले निर्देशन दिएको हो ।
बलात्कारपछि गर्भवती बनेकी छोरीको गर्भपतन गराउन पाउनुपर्छ भन्दै उनकी आमा अदालतमा पुगेकी थिइन् । सम्पूर्ण मेडिकल रिपोर्टपछि अदालतले अनुमति दिएको हो ।
१२ वर्षीय बालिकामाथि एक ट्राभल एजेन्सीका चालक उदय गगरईले घरमा कोही नभएको बेला धम्काएर बलात्कार गरेका थिए ।