श्याम गुप्ता
बारा, ११ जेठ । बारामा कार्यरत थप तीन जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय , कलैया , बारामा कार्यरत थप तीन जना प्रहरीमा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण हुँनेमा पर्सा जिल्ला घर भएका वर्ष ३२ का प्रहरी जवान , कलैया उपमहानगरपालिका वडा नं।१६ घर भएका वर्ष ३४ का प्रहरी हवल्दार र रौतहट घर भएका वर्ष ३४ का प्रहरी जवान गरी तीन जना प्रहरी कर्मचारीमा कोरोना संक्रमित रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले साझेदारीलाई जानकारी दिनुभयो ।
कोरोना भाईरस देखिएका प्रहरी कर्मचारीहरुलाई जिल्ला अस्पताल कलैयामा लैजाने तयारी भईरहेको प्रजिअ पण्डितले बताए । उनीहरुको जेष्ठ ३ गते स्वाब संकलन गरी परिक्षणको लागि काठमाण्डौंको टेकु स्थित केन्द्रिय प्रयोगशालामा पठाईएको थियो । अहिले उनको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुको खोजि कार्य भईरहेको प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिनुभयो ।
यस अघि सर्लाही घर भई जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत रहेका वर्ष ४९ का प्रहरी नायब निरिक्षकको कोरोना पुष्टि भएको केही मिनेट पछि थप तीन प्रहरी कर्मचारीमा कोरोना देखिएको प्रजिअ पण्डितले बताउनु भयो ।
यस भन्दा अघि जेष्ठ ३ गते जिल्ला प्रहरी कार्यालय बारामा नै कार्यरत रहेका वर्ष ३५ का मुद्दा फाँटका प्रहरी जवानमा कोरोना पुष्टि भएको थियो । उनी प्रहरीको लागि निर्माण गरिएको बाल मन्दिरमा बनाईएको आईसोलेसनमा बस्दै आएका थिए ।
पहिलो संक्रमित जवानको कन्ट्याक्ट ट्रेसिङ्गका आधारमा उनको स्वाब सङ्कलन गरी परिक्षणको लागि पठाएको थियो । यो सँगै बारामा कोरोना देखिने प्रहरीको संख्या पाँच पुगेको छ ।