एजेन्सी, २६ वैशाख । इराकका पूर्व गुप्तचर प्रमुख मुस्तफा खादिमी प्रधानमन्त्रीमा निर्वाचित हुनुुु भएको छ ।
अमेरिका पक्षीय मानिने खादिमीलाई इराकको संसदले बिहीबार प्रधानमन्त्रीमा निर्वाचित गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । तत्कालीन प्रधानमन्त्री अदेल अब्दुल मेहदीले राजिनामा दिएपछि लामो समयपछि खादिमी इरोकको प्रधानमन्त्रीमा नियुक्त हुनु भएको हो । इराकमा लामो समयदेखि कामचलाउ प्रधानमन्त्रीको भरमा सरकार सञ्चालन भइरहेको थियो भने सरकार विरोधी प्रदर्शनहरु पनि भइरहेका थिए प्रदर्शनकारीहरुले रोजगारी र सुशासनको माग गरेका थिए ।
उनीहरुले भ्रष्टाचार अन्त्य गर्न र सरकारका काम कारबाही राम्रो बनाउन माग गर्दै थालेको आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री अदेल अब्दुल मेहदीले राजिनामा दिनुभएको थियो । प्रधानमन्त्रीमा निर्वाचित भएपछि खादिमीले इराकको सुरक्षा, समृृद्धि र उत्थानका लागि संसदले आफुलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको उल्लेख गर्नु भएको छ । सामाजिक सञ्जाल ट्वीटर मार्फत् उहाँले सवैभन्दा पहिलो प्राथमिकता कोरोना भाइरस रोकथाम र नियन्त्रण हुने बताउनु भएको छ । इराकमा कोरोना संक्रमितको संख्या दुई हजार ४८० पुगेको छ भने १०२ जनाको मृत्यु भएको छ ।