‘गरिबको कोही नहुँदो रहेछ’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

‘गरिबको कोही नहुँदो रहेछ’

majdur

बर्दिया, ३ वैशाख । सुदूरपश्चिमका विभिन्न जिल्लामा घर भएका ३१ जना सोमबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत मानखोला नाका हुँदै बर्दिया प्रवेश गरे । नाकामा बाँसगढी नगरपालिकाले राखेको हेल्थ डेस्कमा तिनको ज्वरो नापियो । तापक्रम सामान्य देखिएपछि नगरपालिकाले टिपरबाट कर्णाली चिसापानीसम्म पुर्‍यायो तर चिसापानी पुल तरेपछि उनीहरूलाई कैलालीमा टेक्नै दिइएन । रातभरि चिसापानीमै अलपत्र परे ।

मंगलबार बिहानै उनीहरूलाई बाँसगढी फिर्ता पठाइयो। बाँसगढीले फरक जिल्लाका व्यक्तिलाई राख्न नसक्ने भन्दै बाँकेको कोहलपुर पठायो। कोहलपुर नगरपालिकाले फेरि बाँसगढीको मानखोलामै फिर्ता पठायो। त्यसपछि पैदल घर जान लागेका उनीहरूलाई टिपरबाट दिउँसो चिसापानी लगियो।

यसरी स्थानीय सरकारहरूले फुटबलझैं घरी यता र घरी उता हुर्‍याउने त्यस समूहमा कैलालीका २६, कञ्चनपुरका ३ र बझाङका २ जना छन्। उनीहरू काठमाडौं, बुटवल, पोखराबाट पैदलै बाँकेसम्म आएका हुन्। क्वारेन्टाइनमा बस्ने सर्तमा प्रवेश दिने प्रयास भइरहेको इलाका प्रहरी चिसापानीले जनाएको छ। ‘दुई दिनदेखि यताउता पठाएर हैरान बनायो,’ कैलालीका प्रेम चौधरीले टेलिफोनमा भने, ‘गरिबको कोही नहुँदो रहेछ। अपराधीजस्तो बनाए।’

उनका अनुसार चिसापानीबाट कोहलपुर र कोहलपुरबाट चिसापानी दुईपल्ट पठाइयो। ‘अझै घर पुग्न पाएनौं,’ उनले भने, ‘हैरान भइयो।’ अन्य जिल्लाले अवरोध नपुर्‍याए पनि आफ्नै स्थानीय सरकारले विभेद गरेको गुनासो गरे। ‘जिल्लाको सिमानामा पुग्दा स्थानीय सरकारले उद्धार गर्नुपर्ने हो,’ उनले भने, ‘बरु बर्दियाको नगरपालिकाले टिपरमा बसाएर यहाँसम्म ल्यायो।’ समूहमा रहेका वीरबहादुर साउदले अनागरिक जस्तो व्यवहार गरेको गुनासो गरे। उद्धार गर्नुको साटो मानसिक तनाव दिएको उनले बताए। भोकभोकै हिँडेर प्रदेशको सीमा पुग्दा सरकारी दुव्र्यवहारको सामना गर्नु परेको उनको भनाइ छ।

इलाका प्रहरी भुरीगाउँका निरीक्षक वसन्त पाण्डेले उनीहरूलाई टिपरमा राखेर चिसापानीसम्म छाडेको बताए। तर प्रवेश गर्न नदिइएपछि बाँसगढी फिर्ता पठाएको उनले बताए। ‘मंगलबार बिहान चिसापानी लगेर छोडेका छौं,’ उनले भने, ‘त्यहाँको प्रशासनले प्रवेश गर्न दिने नदिनेबारे छलफल भइरहेको सुनेको छु।’ कान्तिपुर दैनिकले समाचार छापेकाे छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);