काठमाडौं, १६ फागुन । खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले काठमाडौं उपत्यकाभरीका पोखरी र ढुंगेधाराहरुको संरक्षण गरिने बताउनुभएको छ । शुक्रबार मन्त्रालय र विभिन्न नगरपालिकाबीच भएको हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री मगरले यस्तो बताउनु भएको हो ।
महालक्ष्मी नगरपालिका, मध्यपुर ठिमी नगरपालिका र मन्त्रालयबीच ढुंगेधारा र पोखरी संरक्षणका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । मन्त्री मगरले हिजोको परम्परा र शैलीलाई निरन्तरता दिएर अहिलेको आधुनिक युगमा त्यसको संरक्षण गर्दै अगाडी बढ्ने बताउनुभयो ।
उपत्यकाका १० वटा नगरपालिका भित्र रहेका ५ सय ७३ ढुंगेधारा र २ सय ३३ पोखरीहरुको नक्शांकनको काम सकिएको छ । ५ सय ७३ ढुंगेधारामध्ये ४सय ७९ स्थलगत रुपमा भेटिएका छन्, भने ९४ वटा हराएका छन् ।
त्यसैगरी २ सय ३३ पोखरीमध्ये १ सय ९३ वटा पोखरी भेटिएका छन्, ४० वटा हराएका छन् ।