काठमाडौं, ३० भदौ । निर्वाचन पर्यवेक्षकहरुले निर्वाचन आयोगको काम कार्वाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकका अध्यक्ष सूर्य प्रसाद श्रेष्ठ र आम निर्वाचन पर्यवेक्षक समिति जियोकका अध्यक्ष हिमालय शमशेर राणाले निर्वाचन आयोगको काम कार्वाहीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
शुक्रबार काठमाडौंमा आयोजित तेस्रो चरणको स्थानीय तह निर्वाचनपूर्वको पर्यवेक्षण समिक्षा कार्यक्रममा बोल्दै नियोकका अध्यक्ष श्रेष्ठले निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलंघन हुँदा समेत सरकारलाई कार्वाही गर्न नसकेकोमा आपत्ति जनाए ।
पूर्व प्रमुख निर्वाचन आयुक्त समेत रहेका उनले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने संवैधानिक जिम्मेवारी पाएको आयोग सरकारको लाचार छायाँजस्तो भएकोमा आफू दुःखित भएको भन्दै आक्रोश व्यक्त गरे । अध्यक्ष श्रेष्ठले कार्यान्वयन नहुने आचार संहिता किन बनाउनु परेको भन्दै निर्वाचन आयोगको गम्भिर ध्यानाकर्षण गराए ।
आम निर्वाचन पर्यवेक्षक समिति जियोकका अध्यक्ष राणाले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको प्रचार अभियानका क्रममा व्यापक आचारसंहिता उलंघन हुँदा समेत निर्वाचन आयोगले केही गर्न नसकेको भन्दै आपत्ति प्रकट गरे । उनले आयोगको निष्पक्षतामाथि नै प्रश्न चिन्ह खडा हुने बेला आएकोमा आफूलाई चिन्ता लागेको उल्लेख गरे ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति र आम निर्वाचन पर्यवेक्षण समितिले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा ३ सय ८५ जना पर्यवेक्षकहरु परिचालन गरेका छन ।