पर्सा, ४ पुस । अत्यधिक चिसो बढेसंगै मध्य तराईका बारा, पर्सा लगायतका जिल्लामा जनजीवन कष्टकर बन्दै गएको छ । तर शीतलहर तथा तापक्रम घट्ने क्रम जारी रहेपनि बारा र पर्साका अधिकांस बिद्यालय बिहानै संचालन भइरहेका छन् । यसले विद्यालय पुग्ने बिद्यार्थीको संख्या घटेको छ भने बिद्यालय पुगेका बिद्यार्थीलाई पनि सकस भएको छ ।
पछिल्ला केही दिनमा मध्य तराईका बारा, पर्सा, महोत्तरीमा चिसो र शीतलहरका कारण जनजीवन प्रभावित बनेको छ । चिसो छल्न बिभिन्न ठाउँमा दाउरा बालेर ताप्दै गरेको देखिन्छ । संगै तातो पेय पदार्थको पसलमा भिड देखिएको छ । चिसोले विशेषत् वालवालिका र बृद्ध बृद्धालाई बढी समस्या भएको छ ।
यता शीतलहरकै बिचमा वीरगंञ्जका निजी तथा सामुदायिक विद्यालयहरुमा बिहानी कक्षा संचालन हुँदा बिद्यार्थीलाई समस्या भएको छ । बिद्यालयमा बिद्यार्थीको संख्या पातलिदै गएको छ ।
अझ सामुदायिक बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीको आर्थिक अवस्था कमजोर हुने र जाडोका पोषाकको अभाव हुदाँ बिध्यालयसम्म आउन झनै कठिनाई हुने गरेको छ ।
निजि बिद्यालयहरुले भने बिहानी कक्षालाई दिवा बनाउने भएका छन् । प्याब्सन पर्साको सल्लाहाकार ईमामुदिन अहमका अनुसार स–साना बिद्यार्थीलाई बिद्यालय आउन सकस भएकाले दिउसो कक्षा संचालन गर्ने बताउनु भयो ।
यता वीरगंञ्ज महानगरपालिका शिक्षा शाखाले भने मौसममा देखिएको प्रतिकुलतालाई मध्यनजर गर्दै विद्यालयलहरुले माग गरे बिदा दिन तयारीमा रहेको छ ।