सिन्धुपाल्चोक बस दुर्घटना : अलपत्र अबोध | ईमाउण्टेन समाचार

Our Network

मंसिर २९ २०८१, शनिबार

सिन्धुपाल्चोक बस दुर्घटना : अलपत्र अबोध

7 months child

सिन्धुपाल्चोक , १ पुस ।   दुर्घटनाका घाइतेलाई ल्याइएको वातावरणबीच सातमहिने बालिका रोइरहेकी थिइन् । आइतबार सिन्धुपाल्चोकको स्वाँरामा भएको बस दुर्घटनालगत्तै सेना, प्रहरी र स्थानीयले १५ घाइतेलाई ६ किलोमिटर तल बलेफीस्थित सिन्धु सदावहार अस्पतालमा पुर्‍याएका थिए । स्वास्थ्यकर्मी र आफन्तको सल्लाहसँगै घाइतेहरूको अवस्थाअनुसार सबैलाई धुलिखेल र काठमाडौंका अस्पताल पठाइयो ।

घाइतेसँगै ल्याइएकी बच्ची कसको भन्ने खुलेन, न कोही आफ्नो भन्दै लिन आयो । आइतबार उनी कसैसँग मानिरहेकी थिइनन् । केही दिनअघि सुत्केरी भएकी सुनकोसी–७ माझीगाउँकी सुनीता माझी त्यही बेला हेर्न आइपुगिन् । स्वास्थ्यकर्मीले बोतलबाट दूध पिलाउन खोजिरहेका थिए । बच्चीले खान मानिनन् । बच्चाले आमाकै दूध खोजेको बुझेपछि माझीले काखमा लिइन् र आफ्नो दूध चुसाउन थालिन् । बच्चीले दूध चुसिन् । माझीका हातमा पर्नेबित्तिकै शान्त भइन् । उनलाई यतिबेला बाल स्याहार कक्षमा राखिएको छ । सोमबार साँझसम्म उनलाई लिन कोही पुगेका छैनन् । नजिकै घर भएकाले दूध चुसाउन माझी बेलाबेला अस्पताल आउँछिन् । ‘शिशुको अवस्था एकदमै राम्रो छ,’ अस्पतालकी नर्स लक्ष्मी विकले भनिन्, ‘उनी हामीसँगै मजाले खेलिरहेकी छन् ।’ आमाबाट पाउने सम्पूर्ण स्याहार आफूहरूले दिएर ध्यान दिइरहेको उनले बताइन् ।

दुर्घटनाका घाइते पहिचान खुल्नु र मृतकहरूको सनाखतपछि यी बालिका बसचालक सुमन तामाङकै हुनुपर्ने निष्कर्ष प्रहरीको छ । बस पल्टिने अवस्थामा पुगेपछि तामाङ हाम फालेर भागेको घाइतेले बताएका थिए । उनी फर्किएर आएका छैनन् । कालिञ्चोक दर्शन गरेर फर्किरहेकाहरू सवार तीव्र गतिमा गुडिरहेको बस लामोसाँघु–जिरी सडकको स्वाँरा मोडमा आइपुगेपछि घ्याच्चघ्याच्च गर्न थाल्यो । ब्रेकबाट धूवाँ निस्कियो । यात्रुहरू अत्तालिए । टायरमा हावा कम भएर ब्रेक र स्टेरिङ साह्रो भएको भन्दै चालक तामाङले यात्रुलाई आश्वस्त पार्न खोजे, तर बस रोकेनन् । गाडी अनियन्त्रित भएपछि उनी आफूलाई जोगाउन सिट छाडेर बाहिर हाम फाले । सडक छाडेर बस खस्यो ।

दुर्घटनामा ज्यान गुमाउने १५ जनामध्ये चालक तामाङकी श्रीमती सुनीता पनि छिन् । उनीसँगै रहेकी सातमहिने छोरी यतिबेला अस्पतालको बाल स्याहार कक्षमा आफन्तको पर्खाइमा छिन् ।

इन्द्रावती गाउँपालिका भोटसिपाका तामाङले कालिञ्चोक घुम्न जाने भएकाले श्रीमती र छोरीलाई साथै लगेका थिए । सुनीता उनकी तेस्री श्रीमती थिइन् । जेठी र माइली श्रीमतीसँग सम्बन्ध राम्रो हुन नसकेपछि गत वर्ष सर्लाहीकी सुनीतासँग उनले विवाह गरेका थिए ।

यात्रुका अनुसार लामो समयदेखि भक्तपुर च्यामासिंह क्षेत्रमा गाडी चलाइरहेका ४२ वर्षीय तामाङका लागि यो रुट नौलो थियो । ओभरटेक गर्दै कच्ची सडकमा सवारी चलाइरहेका उनले बेलुकी लिशंखुपाखरको मुडेमा यात्रुलाई बास बसाएका थिए । राति चलाउन गाह्रो हुने भएकैले राति बास बस्ने योजनामा सबै यात्रु सहमत भएर बिहानै भक्तपुर फर्किने सल्लाह मिलेको थियो । उज्यालोको यात्रा सहज हुने ठानेकाहरू दुर्घटनामा परे ।

‘नाबालक छोरी र श्रीमतीलाई गाडीमै छाडेर किन भागे होलान् सुमन ?’ २७ वर्षदेखि गाडी चलाइरहेका बलेफी गाउँपालिका–६ का बुद्धिध्वज तामाङलाई पनि अचम्म लागेको छ । ‘परिवार र यात्रुको माया मारेर कसरी एउटा चालकले आफ्नो मात्रै ज्यान बचाउन सक्छ,’ उनी भन्छन्, ‘श्रीमती र छोरी नै भएको गाडी जोगाउनुको साटो कुन मनले आफूमात्र भाग्न आँट आयो होला ?’ यात्रु बचाउनुको सट्टा आफैं हाम फाल्नु चालकको गल्ती भएको उनले बताए । जति ठूलो जटिल अवस्था आए पनि चालकले सबैलाई सूचित गरेर आफ्नो र अरूको ज्यान जोगाउनतिर लाग्नुपर्ने उनी बताउँछन् । ‘ब्रेक र स्टेरिङ फेल हुँदाहुँदै चालकले कुनै सावधानी नअपनाउनु लापरबाही र जबर्जस्ती देखिन्छ,’ उनी भन्छन् ।
कान्तिपुरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);