काठमाडौं, २० मंसिर । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले राजनीतिक व्यक्तिसँग प्रविधिसम्बन्धी ज्ञान नभए विकास निर्माणका कामले गति लिन नसक्ने बताउनुभएको छ ।
उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय जलस्रोत तथा सिंचाई विभागले शुक्रबार आयोजना गरेको ‘पूर्वाधार विकास बहस’ कार्यक्रममा मन्त्री पुनले पुर्वाधारको विकास बिना समृद्धि सम्भव नहुने र त्यसका लागि राजनीतिज्ञसँग ज्ञान हुन आवश्यक भएको बताउनुभयो ।
उहाँले राजनीतिक व्यक्तिले प्राविधिक विषयमा न्यूनतम ज्ञान नराख्ने हो भने कुनैपनि आयोजना अगाडी बढ्न गाह्रो हुने बताउनुभयो । उहाँले जलविद्युत क्षेत्रमा ड्याम र सुरुङको डिजाइन बनाउने काम महत्वपूर्ण भएपनि दक्ष जनशक्ति नेपालमा नभएको बताउनुभयो । मन्त्री पुनले सुरुङ र ड्याम निर्माण गर्ने, डिजाइन गर्ने जनशक्ति तयार गर्न सरकारले ध्यान दिएको बताउनुभयो ।
मन्त्री पुनले जलविद्युत र खानेपानी क्षेत्रमा सुरुङ निर्माणको काम राम्रो भएपनि यातायात क्षेत्रमा निर्माण हुन नसकेको बताउनुभयो । सरकारले पछिल्लो समय विभिन्न सुरुङ मार्गको निर्माण गर्न लागेकाले त्यस क्षेत्रमा पनि केही वर्षमा पुर्वाधार र जनशक्ति दुवै तयार हुने उहाँले बताउनुभयो ।