काठमाडौं, २३ कात्तिक । टुँडिखेललाई अतिक्रमणबाट जोगाउन दवावदिनका लागि टुँडिखेललाई मानव साङ्लो बनाएर घेरिएको छ । ‘अकुपाई टुँडिखेल’ अभियानले काठमाडौंको मुटुमा रहेको एकमात्र ठुलो खुला स्थान टुँडिखेललाई शनिबार मानव साङ्लो बनाएर घेरिएको हो ।
अतिक्रमणबाट जोगाउन दबाब दिने उद्देश्यले नागरिकस्तरबाट ‘अकुपाई टुँडिखेल’ अभियान सञ्चालन गरिएको हो । विश्व स्वतन्त्रता दिवसको अवसर पारेर शनिबार विहान ८ बजे टुँडिखेलमा मानव साङ्लो बनाएर अभियानको औपचारिक सुरुवात गरिने उनले बताए ।
तीन महिनासम्म हरेक शनिबार मानव साङ्लो बनाएर प्रदर्शन गरिने अभियानले जनाएको छ । टुँडिखेल कुनै समय एसियाकै ठूलो परेड मैदान थियो । तर अहिले टुँडिखेलको सानो हिस्सा सार्वसाधारणको पहुँचमा छ भने बाँकी कुनै न कुनै नाममा अतिक्रमित भएको छ ।
कतिपय हिस्सा सरकारी निकायहरुकै नियन्त्रणमा छ भने केहीमा बसपार्क, अनाधिकृत पसल, पार्किङ स्थल बनेको छ । टुँडिखेल नै मासिने अवस्था आएको भन्दै ‘अकुपाई टुँडिखेल’ अभियान थालिएको हो ।