काठमाडौं, १६ कात्तिक । टुंडिखेलको दक्षिणतिरको बार पालले छोपेर भित्र हेर्न नमिल्ने बनाइएको छ । भित्र एकछेउ माटो थुपारेर अग्लो पहाडझैं बनाइएको छ । त्यहाँ झारपात उम्रिएर हरिया बनेका छन् । नजिकै घर तथा भवनका भग्नावशेष थुपारिएको छ । डोजरले ती भग्नावशेषलाई मिलाएर थुपार्ने काम गरिरहेका हुन्छन् । त्यसकै अर्का छेउमा धरहरा पुनर्निर्माणका लागि ल्याएका सामग्री थुपारिएका छन् । छेउमा केही टहरा छन्, नजिकै ठूलाठूला ट्रम, टिपरलगायतका मालबाहक सवारीसाधन ।
टुँडिखेल हेर्दै कुरूप देखिन्छ । यसको माथिल्लो भागमा पर्ने खुलामञ्चको अवस्था पनि अस्तव्यस्त छ । उत्तरतिरको क्षेत्र कालोपत्रे गरिएको छ । खुलामञ्चमै गाडीहरू पार्किङ गरिएका छन् । एक छेउमा टहरा ठडिएको छ ।
टुँडिखेल एकपछि अर्को गर्दै कब्जामा पर्न थालेपछि यसलाई जोगाउन ‘अकुपाई टुँडिखेल’ नाम दिएर नागरिक स्तरबाट दबाबमूलक अभियान थालिएको छ । अभियान सञ्चालन गर्न विजयलाल श्रेष्ठको संयोजकत्वमा जनस्तरीय समितिसमेत घोषणा भएको छ । टुँडिखेलबारे चेतना फैलाउने, छलफल चलाउनेदेखि मानव साङ्लोले टुँडिखेल घेर्नेसम्मका कार्यक्रम हुनेछन् ।
विश्व स्वतन्त्रता दिवसको अवसर पारेर आउँदो शनिबार बिहान ८ देखि १० बजेसम्म मानव साङ्लोले घेरेर अभियानको सुरुवात गर्ने सम्पदा संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधरले जानकारी दिए । ‘टुँडिखेलबाट सुरु गरेर देशभरिका खुला ठाउँ जोगाउन दबाब दिने अभियान हो,’ तुलाधर भन्छन्, ‘यो अभियानले सर्वसाधारणलाई खुला ठाउँको महत्त्व बुझाउनेछ भने सरकारलाई खुला ठाउँ जोगाउन दबाब सिर्जना हुनेछ ।’ पहिलो चरणको कार्यक्रम सकिएपछि नयाँ कार्यक्रम घोषणा गर्दै जाने उनले बताए ।
यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।