काठमाडौं, १२ कात्तिक । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले गुठीसम्बन्धि जनताको भावनालाई सरकारले कुण्ठित नगर्ने बताउनु भएको छ ।
उपप्रधानमन्त्री पोखरेलले गुठीसम्बन्धि जनताको भावनालाई सरकारले कदर गर्दैन की ? भन्ने भ्रम नपाल्न पनि सम्बन्धित सबै निकायलाई अपिल गर्नु भयो । नेपाल संवत ११४० को अवसर पारेर राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले मंगलबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सरकार जनताको धार्मिक, सांस्कृतिक तथा सामाजिक मूल्य मान्यताको पक्षमा दृढतापूर्वक उभिने पनि पटक–पटक दोहो¥याउनु भयो ।
तर गुठीको नाममा भएका सामन्ती उत्पीडन भने सरकारलाई स्विकार नहुने उपप्रधानमन्त्री पोखरेलको चेतावनी थियो । ‘जनताले आफू मिलेर गुठीद्धारा स्थापित गर्न चाहेका कुराको पक्षमा सरकार दृढतापूर्वक उभिन्छ,’ उपप्रधानमन्त्री पोखरेलले चेतावनीयुक्त शैलीमा भन्नु भयो, ‘तर गुठीको नाममा जनतालाई जोताहा बनाउन दिने कुरा सरकारलाई स्विकार्य छैन ।’
उपप्रधानमन्त्री पोखरेलले नेपाल संवतलाई जनताको संवतको रुपमा स्थापित गराउने चूनौतिलाई सामना गरेर अघि बढन पनि त्यसका अभियन्ताहरुलाई आग्रह गर्नु भयो ।
नेपाल संवत नेपालको पहिचानसँग जोडिएको उल्लेख गर्दै त्यसलाई स्थापित गराउन सरकारले सबै खालको सहयोग गर्ने पनि उपप्रधानमन्त्री पोखरेलको प्रतिवद्धता छ ।