सी कसरी चीनकाे प्रभावशाली राष्ट्रपति बने ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सी कसरी चीनकाे प्रभावशाली राष्ट्रपति बने ?

xi-jinping-china-president

काठमाडाैं, २४ असाेज । यतिबेला चर्चा चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको रहेको छ । नेपाल भ्रमण अघि उहाँ भारत भ्रमणमा हुनुहुन्छ । भारत हुँदै सी शनिबार नेपाल आउँदै हुनुहुन्छ । चिनियाँ राष्ट्रपति सी जिनफिङ विश्वको ध्यान खिच्न सक्ने र विश्व अर्थतन्त्रमा प्रभाव पार्ने मध्येका एक शक्तिशाली नेता हुनुहुन्छ । जसले सीको चर्चा नेपालमा मात्र होइन अहिले विश्वभरी नै छ । यसरी विश्वमै चर्चित र शक्तिशाली चिनियाँ राष्ट्रपति सी कसरी शक्तिशाली देश चीनका प्रभावशाली राष्ट्रपति बने त ? एजेन्सीको सहयोगमा एक रिर्पोट :

चीनका राष्ट्रपति शी जिनफिङको जीवनसंघर्ष धेरै मानिसका लागि प्रेरणादायी छ । सन् १९५३ मा चीनको शान्शी प्रान्तको फुपिङ काउन्टीमा जन्मिनुभएका शी जनवादी गणतन्त्र चीनका उपराष्ट्रपति, महासचिव हुँदै सन् २०१३ देखि राष्ट्रपति हुनुहुन्छ ।

शी जिनफिङका पिता शी झोङशुन कुनै बेलामा चीनका उपप्रधानमन्त्री थिए र माओत्से तुङका सहयोद्धा थिए । तर शी झोङशुनले पार्टी तथा सरकारको यदाकदा आलोचना गरिरहन्थे । विशेषगरी सन् १९६६ देखि १९७६ सम्मको सांस्कृतिक क्रान्तिभन्दा अघि र पछि अनि सन् १९८९ मा तियानानमेन हत्याकाण्ड हुँदा उहाँले पार्टी र सरकारको आलोचना गर्नुभएको थियो ।

छोरा शीको बाल्यकाल चीनको सत्तारूढ सम्भ्रान्तहरूको विलासी जीवनशैलीमा बितेको थियो । सांस्कृतिक क्रान्तिका बेलामा उहाँका पितालाई कारवाही गरियो र शी चिनफिङलाई सन् १९६९ मा गाउँतिर धपाइयो ।

ग्रामीण शांक्शी प्रान्तमा उहाँले ६ वर्षसम्म मजदूरका रूपमा कृषि कम्युनमा काम गर्नुपर्यो । उक्त अवधिमा उहाँले स्थानीय कृषकवर्गसँग राम्रो सम्बन्ध कायम गर्नुभयो । त्यसैको परिणामस्वरूप शी चिनियाँ कम्युनिस्ट पार्टीको वरीयतामा माथि चढ्दै जानुभयो ।

सन् १९७४ मा शी पार्टीको आधिकारिक सदस्य बन्नुभयो र अर्को वर्ष बेइजिङको चिङ्घुवा विश्वविद्यालयमा रासायनिक इन्जिनीयरिङको अध्ययन गर्न थाल्नुभयो । सन् १९७९ मा उहाँले तत्कालीन उपप्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षामन्त्री गेङ ब्याओका सचिवका रूपमा तीन वर्ष काम गर्नुभयो ।

सन् १९८२ मा शीले उक्त पद छोडे । उनी बेइजिङबाट टाढा गएर हेबेई प्रान्तमा चिनियाँ कम्युनिस्ट पार्टीको उपसचिवका रूपमा नियुक्त भए । सन् १९८५ सम्म उनी त्यहीँ थिए । उनलाई पार्टीको कमिटी सदस्य बनाइयो र फुजियान प्रान्तमा रहेको शियामेनको उपमेयर नियुक्त गरियो ।

फुजियानमै छँदा शीले प्रख्यात लोकगायिका पेङ लियुआनसँग सन् १९८७ मा विवाह गर्नुभयो । उहाँ त्यसपछि माथि उक्लिँदै जानुभयो अनि सन् १९९५ सम्ममा उहाँ प्रान्तीय उपसचिव पदमा पुग्नुभयो ।

सन् १९९९ मा शी फुजियानका कार्यकारी गभर्नर बन्नुभयो र त्यसको एक वर्षपछि गभर्नर बन्नुभयो । गभर्नर रहँदा सीले वातावरण संरक्षणमा अनि नजिकै रहेको ताइवानसँग सहकार्यमा जोड दिए ।

उहाँले सन् २००२ सम्म उपसचिव र पदाधिकारीको पद सम्हाले । त्यसै वर्ष उहाँको बढुवा भएर सी झेजियाङ प्रान्त पुग्नुभयो र कार्यकारी गभर्नरका रूपमा काम गर्नुभयो । सन् २००३ देखि उहाँ पार्टी सचिव हुनुभयो । त्यहाँ रहँदा उहाँले दिगो विकास प्रवर्द्धनका लागि प्रान्तको औद्योगिक संरचनाको पुनःसंरचनामा जोड दिनुभयो ।

सन् २००७ मा शांघाईको उच्च नेतृत्व तहमा काण्ड हुँदा शी उक्त शहरका पार्टी सचिव बन्नुभयो । उहाँका पूर्ववर्ती लगायतका अन्य व्यक्तिहरू पेन्सन रकम हिनामिनामा बदनाम भएका थिए ।

आफ्ना सुधारवादी पिताको विपरीत शीले सुझबुझ अपनाउने र पार्टीको लाइन अनुसरण गर्ने काम गर्नुभयो । सांघाईमा सचिव हुनुको नाताले उहाँको जोड स्थिरता प्रवर्द्धन गर्न र शहरको आर्थिक छवि पुनः उकास्नमा रह्यो । उहाँ उक्त पदमा छोटो अवधि मात्र रहनुभयो । किनकि सन् २००७ को अक्टोबर महिनामा उहाँ चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरोको स्थायी कमिटीका नौ मध्ये एक सदस्य छानिनुभयो ।

बढुवासँगै सीलाई चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव हु जिन्ताओका सम्भावित उत्तराधिकारीको सूचीमा सामेल गरियो । हु सन् २००२ देखि महासचिव र सन् २००३ देखि जनवादी गणतन्त्र चीनका राष्ट्रपति थिए ।

सन् २००८ को मार्च महिनामा चीनका उपराष्ट्रपति निर्वाचित गरिएपछि सीको हैसियत झनै बढ्यो । उक्त भूमिकामा उहाँले संरक्षण प्रयास तथा अन्तर्राष्ट्रिय सम्बन्ध सुधारमा जोड दिनुभयो । सन् २०१० को अक्टोबर महिनामा सीलाई शक्तिशाली सेन्ट्रल मिलिटरी कमिसनका उपाध्यक्ष बनाइयो । त्यस पदलाई राष्ट्रपति बन्नेतर्फको अन्तिम कदम मानिन्छ ।

सन् २०१२ को नोभेम्बर महिनामा चिनियाँ कम्युनिस्ट पार्टीको १८औं महाधिवेशनमा सी पुनः एकपटक पोलिटब्युरोको स्थायी कमिटीमा निर्वाचित हुनुभयो र हुका उत्तराधिकारीका रूपमा पार्टीको महासचिव बन्नुभयो । त्यतिखेर हुले सीलाई सीएमसीको कुर्सी पनि सम्पिनुभयो । सन् २०१३ को मार्च १४ मा सीलाई चीनको राष्ट्रपति निर्वाचित गरियो ।

सीका आरम्भिक कार्य भनेको राष्ट्रव्यापी भ्रष्टाचार निरोधी अभियान हो । त्यसअन्तर्गत हजारौं उच्च तथा तल्लो तहका अधिकारीहरूलाई पदबाट हटाइयो । सीले विधिको शासनको महत्वमा पनि जोड दिनुभयो र चिनियाँ संविधानको पालना गर्न तथा चिनियाँ चरित्रको समाजवाद निर्माणमा न्यायपालिकाको बृहत्तर व्यावसायीकरणको आह्वान गर्नुभयो ।

सीको नेतृत्वमा चीन अन्तर्राष्ट्रिय मामिलामा थप आक्रामक बन्दै गयो । उसले द हेगस्थित पर्मानेन्ट कोर्ट अफ आर्बाइट्रेसनको आदेशका बावजूद दक्षिण चीन सागरका लगभग सबै भूभागमा सार्वभौमसत्ताको दाबी गर्यो ।

अनि चीनले एक पेटी, एक सडक पहललाई प्रवर्द्धन गर्दै पूर्वी एसिया, मध्य एसिया र युरोपेली मुलुकमा संयुक्त व्यापार, संरचना निर्माण तथा विकास परियोजना लागू गर्यो ।

सीले राष्ट्रपतिको पहिलो कार्यकालमा तीव्र गतिमा शक्तिसञ्चय गरे । उहाँले चलाएको भ्रष्टाचारबिरोधी अभियान सफल भइरह्यो र सन् २०१७ को अन्त्यसम्ममा १० लाखभन्दा बढी भ्रष्ट अधिकारीहरूलाई सजाय दिइयो ।

यस अभियानले सीका थुप्रै राजनीतिक शत्रुहरूलाई हटायो र पार्टीमा भिन्नमतलाई निमिट्यान्न पार्ने अनि शक्तिमा पकड कायम राख्ने उहाँको प्रयासमा थप योगदान गर्यो ।

सन् २०१६ को अक्टोबर महिनामा चिनियाँ कम्युनिस्ट पार्टीले सीलाई केन्द्रीय नेता (कोर लीडर) को पदवी दियो । उक्त पदवी यसअघि पार्टीका प्रभावशाली नेताहरू माओत्से तुङ, देङ श्याओपिङ र च्याङ चमिनलाई मात्र दिइएको थियो । उक्त पदवीले सीको हैसियत झनै उच्च बनायो ।

त्यसको एक वर्षपछि चिनियाँ कम्युनिस्ट पार्टीले शीको नाम र विचारधारालाई पार्टी विधानमा समावेश गर्यो र त्यसलाई विचार (थट) का रूपमा स्वीकार गर्यो (शी चिनफिङ थट अन सोसियलिजम विथ चाइनिज क्यारेक्टरिस्टिक्स इन ए न्यु एरा) । उक्त सम्मान यसअघि माओलाई मात्र दिइएको थियो ।

शीको विचारधारालाई पछि नेसनल पीपुल्स कांग्रेस (एनपीसी) ले संशोधनसहित सन् २०१८ को मार्च महिनामा देशको संविधानमा समाविष्ट गर्यो । त्यही संसदीय सत्रमा एनपीसीले संविधानमा अन्य संशोधन समेत गर्दै देशका राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल हटायो । त्यसले गर्दा शीलाई सन् २०२३ पछि पनि राष्ट्रपति बनिरहन अनुमति दियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);