एजेन्सी , ४ असोज । १६ वर्षीया स्विडिस किशोरी ग्रेटा थनबर्गको नेतृत्वमा सुरु भएको जलवायु परिवर्तनविरुद्धको ‘फ्राइडे फर फ्युचर’ अभियानले विश्वव्यापी रुप लिएको छ । सेप्टेम्बर २० का दिन शुक्रबार संसारभर स्कुले विद्यार्थीहरुसहित लाखौँ मानिसहरु सडकमा ओर्लिएर ‘फ्राइडे फर फ्युचर’ अभियानमा सहभागि भएका छन् ।
यस अभियान अन्तर्गत संसारभरका स्कुले विद्यार्थीहरु शुक्रबारका दिन विद्यालय छोडेर जलवायु परिवर्तनविरुद्धको अभियानमा सहभागी भएका हुन् । ग्रेटा थनवर्गले स्वीडेनबाट सुरु गरेको यो अभियान यतिबेला विश्वव्यापी बनेको छ । एक जना १६ वर्षे किशोरीले सुरु गरेको अभियानमा अहिले सबै उमरेसमूहका मानिसहरुले साथ दिइरहेका छन्।
‘फ्राइडे फर फ्युचर’ अभियानले यतिबेला संसारको ध्यान खिच्न सफल भएको छ । शुक्रबार जलवायु परिवर्तनविरुद्ध विश्वका विभिन्न शहरहरुमा ¥याली निकालिएको छ । अमेरिका, अष्ट्रेलिया, जापान, ब्राजिल, युगाण्डा, कोलम्बिया, युरोपका अधिकांश मुलुकहरुसहित संसारभरका १५६ वटा देशका विभिन्न शहरहरुमा ठूलो संख्यामा मानिसहरु र्यालीमा सहभागी बनेका छन्।
सन् २००३ मा स्वीडेनमा जन्मिएकी ग्रेटा सन् २०१९ को नोवेल शान्ति पुरस्कारको लागि मनोनयनमासमेत परेकी छन्।यसै अभियानका लागि अमेरिका पुगेकी ग्रेटाले आगामी मंगलबार संयक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।