काठमाडौं, २३ भदौ । यातायात व्यवस्था विभागले दशैंमा राजधानीबाट बाहिरिने बस टिकटको अग्रिम बुकिङ भदौभित्रै खुल्ने बताएको छ । विभागले यसै साता राष्ट्रिय यातायात व्यवसायी महासंघसँग छलफल गरी अग्रिम बुकिङ खुला गर्न लागेको हो ।
‘महासंघले भाडा समायोजन गर्नुपर्ने माग राखेको छ,’ विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, ‘तर, दशैंअगाडि भाडा समायोजन हुँदैन ।’ हमालले विभागले भाडा समायोजन समिति बनाएको र समितिले दिएको सुझावका आधारमा भाडा निर्धारण गर्न सकिने बताए ।
महासंघले पनि सरकारसँग छलफल भइरहेको र अग्रिम टिकट खुलाउने पहलमै आफू लागेको बताएको छ । भाडा समायोजन आफ्नो माग रहे पनि यसको अन्तिम निर्णय सरकारले गर्नेे महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए । ‘भाडा वृद्धिका लागि हामीले कुनै बार्गेनिङ गरेका छैनौं,’ उनले भने, ‘प्रत्येक आर्थिक वर्षमा विभागसँग छलफल हुने गरेको छ, यो छलफल पनि त्यसैको निरन्तरता मात्रै हो ।’
उनले विगतदेखि आफूहरूले भाडा समायोजन गर्नुपर्ने बताए पनि समायोजन भनेको भाडा बढाउनु नभएको प्रस्ट्याए । ‘समायोजन गर्दा घटाउनुपर्ने ठाउँमा भाडा घट्न पनि सक्छ,’ उनले भने, ‘वैज्ञानिक भाडादर निर्धारण गर्न भने पनि हामी कहिल्यै भाडा बढाऊ भन्दैनौं ।’
सरकारले यसअघि २०६५ फागुनमा बसमा लागेको लागत र अपेक्षित आम्दानीलाई आधार मानी वैज्ञानिक भाडादर निर्धारण गर्ने निर्णय गरेको थियो । निर्णयअनुसार प्रत्येक आर्थिक वर्षको शुरूमा बजार मूल्य सर्वेक्षण गरी गाडीमा लाग्ने १४ ओटा पार्टस्, गाडी कर्जा, चालक/सहचालकको तलब र पेट्रोलको मूल्यको आधारमा भाडादर समायोजन गर्ने भनिएको थियो । महासंघले यही निर्णय लागू गर्न सरकारलाई दबाब दिइरहेको छ । यो समाचार आजको अभियान दैनिकमा लेखेको छ ।