काठमाडौं, ४ भदाै । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका विदेशमन्त्री सुब्रमन्यम् जयशंकरबीच आज भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो प्रधानमन्त्री ओलीसँग भारतीय विदेशमन्त्री जयशंकरले शिष्टाचार भेटवार्ता गरेका हुन्। नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर बुधबार काठमाडौं आएका हुन् ।
भेटमा दुवै तर्फ स्थानीय सरकार रहेको र राजनीतिले पनि स्थायीत्व प्राप्त गरेकाले दुई देशबीचका नीतिगत स्थायीत्वलाई पनि अगाडि बढाएर लैजानुपर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार डाक्टर राजन भट्टराईले जानकारी दिनुभयो ।
भेटमा भारतीय विदेशमन्त्री जयशंकरले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाउनुभएको सन्देश सुनाउनुको साथै प्रबुद्ध समुहको प्रतिवेदनलाई उपयुक्त समयमा बुझ्ने जानकारी गराएको पनि भट्टराईले जानकारी दिनुभयो ।