काठमाडौं, २३ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले देशको हितलाई ध्यानमा राखेर मात्र विद्युत् आयोजना अघि बढाइने बताउनुभएको छ ।
सोमवार राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित बिषयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले आगामी तीन वर्षभित्रमा सबै नेपालीको घरमा उज्यालो पुुर्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको दाबी गर्नुभयो । उहाँले देशमा छरिएर रहेका पैसालाई एकीकृत गरेर विद्युतीय आयोजना निर्माण गर्न सकिन्छ भन्ने बिश्वास सरकारमा रहेको उल्लेख गर्नुभयो ।
मन्त्री पुनले साना आयोजनाबाट उत्पादन हुने बिजुली केन्द्रीय प्रशारणमा जोड्ने र आयोजनालाई लाभ दिने व्यवस्था गरिएको पनि बताउनुभयो ।
उहाँले देशको आर्थिक विकास र समृद्धिका लागि आगामी वर्ष आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिइएको र जनताको लगानीका आयोजना सुरक्षित भएकाले त्यसमा लगानी गरेर देश विकासको अभियानमा सहभागी हुन सबैलाई आह्वान गर्नुभयो ।