काठमाडौं, १८ असार । राजधानीको पर्यटकीय स्थल ठमेलमा ‘महानगरीय पर्यटन सूचना केन्द्र’ स्थापना गरिएको छ ।
बुधवार पर्यटन बोर्ड र नेपाल पर्यटक प्रहरी ईकाईको संयुक्त लगानीमा राजधानीको ठमेल बजारमा सो सूचना केन्द्र स्थापना गरिएको हो । पर्यटकहरुको सेवा र सुविधालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ स्थापना गरिएको सो सेवा केन्द्रमा पर्यटकहरुलाई सूचना दिने गरी हट लाईन सेवा र अनलाईन सेवा शुरु गरिएको हो ।कार्यक्रममा पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले पर्यटन सेवालाई प्रविधिले सहज बनाउने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रविधिको प्रयोगबाट बजारको सुरक्षा गर्नका लागि आवश्यक सूचना केन्द्रहरुको स्थापना गर्ने कामलाई प्राथमिकता दिइएको बताउनु भयो । उहाँले समुदायलाई आफ्नो क्षेत्रको सुरक्षाका लागि आवश्यक सचेतना अपनाउन पनि आग्रह गर्नु भयो ।
सूचना केन्द्रमा पर्यटकहरुको लागि आवश्यक सूचना लिन निःशुल्क रुपमा ११४४ नम्बरको हटलाईन सेवा लिन सकिने व्यवस्था पनि गरिएको पर्यटन विभागले जनाएको छ ।