नेपाल र अमेरिकाका दुई ब्रान्ड हुलासको दा भिन्ची, फोर्डको मुस्ताङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपाल र अमेरिकाका दुई ब्रान्ड हुलासको दा भिन्ची, फोर्डको मुस्ताङ

gadi

काठमाडौं, ८ असार । अमेरिकी मोटर निर्माता कम्पनी फोर्डले हालसम्मकै शक्तिशाली मोटर उत्पादन गरेको छ । सेल्बी जीटी ५०० मा ७०० अश्वशक्तिभन्दा बढीको भी८ इन्जिन रहेको जनाइएको छ ।

हालै आयोजित अटो शोमा उक्त कार सार्वजनिक भएको हो । फोर्डले सन् १९६४ देखि मुस्ताङ ब्रान्डमा कार उत्पादन थालेको हो । हालसम्म यसका छवटा पुस्ता बितिसकेका छन् । मुस्ताङ र मुस्ताङ गाडीसँग नेपालको पनि सरोकार छ । नेपालको एक मात्र मोटर निर्माता कम्पनी हुलास मोटर्सले पनि मुस्ताङ ब्रान्डका गाडी उत्पादन गर्दथ्यो तर मुस्ताङ म्याक्स र मुस्ताङ भी२ को उत्पादन झण्डै चार वर्षअघि नै बन्द भइसकेका छन् ।

आठ वर्षअघि तत्कालीन प्रधानमन्त्री डा। बाबुराम भट्टराईले नेपाली उत्पादन प्रवद्र्धन गर्ने भनी मुस्ताङ गाडीमा राष्ट्रिय झन्डा राखेर प्रयोग गर्न थालेपछि पनि एकाएक चर्चामा आएको थियो तर बजारमा समस्या भएपछि हुलास मोटर्स उक्त गाडीको उत्पादन नै बन्द गर्न पुगेको थियो ।
हुलास मोटर्स पछिल्लो समयमा आफ्नो ब्रान्ड मुस्ताङलाई छाडेर दा भिन्चीतिर लागेको थियो । मुस्ताङ बन्द गरेर विद्युतीय सवारी उत्पादनमा लाग्ने र त्यसको ब्रान्ड नाम दा भिन्ची हुने हुलास मोटर्सले जनाएको थियो ।
नयाँ उत्पादनमार्फत नयाँ पहिचान दिनका लागि दा भिन्चीतिर आफू लागेको कम्पनीले जनाएको थियो । सबै सामान बाहिरबाट ल्याएर नेपालमा फिटफाट गर्ने योजना अनुसार त्यस ब्रान्डका तीन÷चार वटा गाडी तयार भएर परीक्षणका रूपमा दौडाइयो पनि तर भने अनुसारको काम लाग्ने नदेखिएपछि दा भिन्ची पनि ठप्प भएको कम्पनीले जनाएको छ ।

नाममा विसङ्गति ?
धेरैलाई लाग्ला फोर्डले रोजेको मुस्ताङ ब्रान्डसँग नेपालको साइनो छ तर त्यो होइन यसमा नेपालको कुनै साइनो छैन । त्यस्तै हुलासले रोजेको पछिल्लो ब्रान्ड नाम दा भिन्चीमा पनि नेपालको कुनै साइनो छैन । हाम्रा लागि मुस्ताङ हिमालपारिको जिल्ला हो । फोर्डले नयाँ मुस्ताङ गाडी कुदाएको भिडियोमा पनि नेपालकै मुस्ताङ जस्तै लाग्ने ठाउँ देखिन्छ तर त्यो पनि नेपालको मुस्ताङ होइन ।

के हो फोर्डको मुस्ताङ ?
फोर्डले राखेको मुस्ताङ ब्रान्ड नाममा एउटा रोचक प्रसङ्ग छ । सन् १९६० को सुरुताका हेनरी फोर्ड द्वितीयले फोर्ड मोटर कम्पनीका लागि बाबु र हजुरबाको साख कायम राख्न केही नयाँपन दिएर उत्पादन गर्नुपर्ने महसुस गरे । त्यसपछि फोर्डको कार्यसमितिले फोर्ड मुस्ताङ बनाउने तय ग¥यो र सन् १९६४ अप्रिलमा पहिलो मुस्ताङ बजारमा ल्यायो । त्यसको लोगो सानो दौडँदै गरेको घोडा खारिएको थियो ।

धेरैलाई लाग्न सक्ला मुस्ताङ त्यही घोडाबाट नाम राखिएको थियो तर त्यो थिएन । बरु यो नाम एउटा हवाईजहाजको नामबाट राखिएको थियो ।
फोर्डले त्यो नाम कसरी राख्यो भन्ने दस्ताबेज पाइँदैन तर फोर्डमा संलग्न धेरैले दोस्रो विश्वयुद्धमा प्रयोग भएको युद्धक विमानका आधारमा यो नाम राखिएको भन्नेमा सहमति जनाएका छन् ।

दोस्रो विश्वयुद्धमा प्रयोग भएको युद्धक विमानमा जोन नाज्जिर संलग्न थिए । उनी फोर्डको पहिलो पुस्ताको कारको सहडिजाइनर थिए र उनकै सुझावमा मुस्ताङ नाम राखिएको थियो । अमेरिकी उक्त युद्धक विमानको नाम पी–५१ मुस्ताङ रहेको थियो ।

दोस्रो विश्वयुद्धमा प्रयोग भएको शक्तिशाली विमानकै स्तरको उत्पादन गर्न नाज्जिरले मुस्ताङ नाम राखेका थिए तर त्यसलाई जनाउन दौडेको घोडाको प्रतीक चिह्न बनाएका थिए । त्यसताका सवारी साधनमा जनावरको प्रतीक चिह्न राख्ने प्रचलन रहेको थियो । त्यसपछिका हरेक पुस्ताका मुस्ताङ गाडीमा केही परिवर्तनसाथ त्यही सानो घोडा दौडिइरहेको देखाउने गरिएको छ ।

हुलासको दा भिन्ची
हुलासले बन्द गरिसकेको मुस्ताङको ब्रान्ड नामबारे खासै जानकारी छैन तर उसले पनि फोर्डको मुस्ताङ जस्तो शक्तिशाली देखाउन र नेपालको मुस्ताङ जस्तो विकट स्थानमा पनि जानसक्ने जनाउन मुस्ताङ ब्रान्ड रोजेको हुन सक्ला ।

तर उसले नयाँ उत्पादन गर्ने विद्युतीय कारको नाम दा भिन्ची राख्नुका केही कारण वेबसाइटमा खुलाएको छ । हरित ऊर्जाबाट चल्ने सवारी साधनको नाम उल्लेख गर्दै उसले भनेको छ ‘दा भिन्ची वाज बर्न इन नेपाल’ अनि नयाँ पहिचान निर्माण गर्न सबैमा आग्रह गरेको छ । खासमा दा भिन्ची कलाकार थिए, उनको पूरा नाम लियोनार्दो दी सेर पिएरो दा भिन्ची हो र उनी इटालीका थिए । मोनालिसा नामक विश्व प्रसिद्ध चित्रकलाका साथै लियोनार्दो जर्नलमा घोडाबारे पनि अध्ययन पाइन्छ । उनी विश्व इतिहासमा नै पहिलो कारका निर्माता पनि थिए तर उनको कारमा यात्रुसिट थिएन । सायद नेपालमा गाडीको नामसँग उनी यसरी जोडिए र नेपालमा पुनः जन्मिएको भनिए पनि उक्त गाडी भने परीक्षणमा नै समस्यामा परेको छ ।  यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);