काठमाडौं, ७ असार । चारैतिर हराभरा । उर्वर जमिनमा बाह्रैमास खेती । सुन्दर बगैंचा । काममा व्यस्त किसानको मुस्कान । गाउँका यस्त दृश्य जगदीश सिंह (७०) को मस्तिष्कमा ताजै छन् । समय गुज्रियो, जगदीशको गाउँ पहिला जस्तो रहेन । खोतीयोग्य जमिन बगरमा परिणत भयो, उर्वर जमिन उजाड । किसान विस्थापित भए । गाउँमा फैलियो त्रास । उक्त त्रासबाट गाउँले अहिलेसम्म मुक्त हुन सकेका छैनन् ।
बाँके जिल्लास्थित दक्षिणपूर्वी भूभागमा पर्ने होलिया क्षेत्रको विपत्तिको कथा जोकोहीलाई कारुणिक लाग्छ । ‘म सानो हुँदा यहाँको जमिन बाँके जिल्लामा सबैभन्दा बढी उत्पादनशील मानिन्थ्यो । ठूलाठूला बगैंचा थिए, वातावरण सुन्दर थियो’, जगदीश विगत सम्झिन्छन्, ‘खेती किसानीबाट गाउँले सन्तुष्ट थिए । उनीहरूको जीविकोपार्जन त्यसैबाट भएको थियो।’
गाउँमा राप्ती नदी पस्न थालेपछि गाउँले विस्थापित भएर नेपालगन्ज र भारततर्फ लागेको जगदीशलाई सम्झना छ। ‘अहिले तीन सयभन्दा बढी गाउँले भारतमा आफन्तकहाँ शरण लिइरहेका छन् । खेतमा बालुवा भरिएपछि अन्न उत्पादन नहुँदा गाउँले बस्ती छोडेर हिँडे’, उनी भन्छन्, ‘कतै जान नसकेका किसान नेपालगन्जमा मजदुरी गर्छन् । बर्खाको समयमा उतै बस्छन् ।’
यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।