'परिवारको मुख हेर्न नपाई मरिन्छ कि भन्ने लागेको थियो, बाँचेर आइयो' | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

‘परिवारको मुख हेर्न नपाई मरिन्छ कि भन्ने लागेको थियो, बाँचेर आइयो’

rasuwa surung majdur

रसुवा, ७ असार । रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा बिहीबार राति थुनिएका १७ मजदुर शुक्रबार बिहानै सकुशल बाहिर निस्किन सफल भएका छन् । थुनिएको चार घन्टामा सुरुङभित्र अक्सिजन कम हुन थालेपछि चुनौती मोलेर २ बजेपछि बाहिर निस्किएको उनीहरूले बताएका छन् । सुरक्षाकर्मीको योजना भने बिहान ६ बजे उद्धार गर्ने थियो ।

साँझ खाना खाएर साथीहरू सबै टनेलमा छिर्‍यौँ । काम सुरु गरिसकेका थियौँ । बाहिर अँध्यारो भइसकेको थियो । एक्कासि ठूलो आवाज आयो, ब्लास्ट गरेजस्तो । बत्ती झ्याप्पै गयो । सुरुङभित्र पूरै अन्धकार भयो ।

बाहिर पहिरो गइरहेको सजिलै थाहा हुन्थ्यो । धेरै डर लाग्यो । परिवारको मुख हेर्न नपाई मरिन्छ कि भन्ने पनि लाग्यो । सबै एकै ठाउँमा जम्मा भएर बस्यौँ । पालैपालो मोबाइलको लाइट बालेर उज्यालो बनाएका थियौँ । थुनिएको केही घन्टासम्म बाहिर प्रहरीसँग रेडियो सेटमार्फत कुरा भएको थियो । उहाँहरूले सचेत भएर बस्नु, भोलि बिहान उद्धार हुन्छ भन्नुभएको थियो ।

तर, साढे १ बजेतिर अक्सिजन अभाव भएको महसुस भयो । श्वास फेर्न गाह्रो हुन थाल्यो । त्यसपछि हामी नेपालीले अब बाहिर निस्किनुपर्छ भन्ने योजना बनायौँ । चिनियाँसँग कुरा राख्यौँ । तर, उनीहरूले हुँदैन भने । बाहिर जाने र नजाने भन्नेमा भित्रै चर्काचर्की पनि चल्यो । २ बजेतिर हामी चार नेपाली साथीले बाहिर निस्किने निष्कर्ष निकाल्यौँ । भित्रै मर्नुभन्दा बाहिर निस्किनुपर्छ भन्दै अगाडि बढ्यौँ । त्यतिवेला बाहिर पहिरो खसेको आवाज पनि सुनिएको थिएन । हामी निस्किएपछि अरू पनि एक–दुईजना गर्दै पछिपछि आए । डरैडरमा सबैजना राति नै सकुशल बाहिर निस्किन सफल भयौँ । बाँचेर आयौँ, आफ्नै क्याम्पमा गएर बस्यौँ ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);