काठमाडौं, २५ जेठ । लोमाङथान कटेपछि चार हजार दुई सय मिटर उचाइको हिमाली बस्ती ‘चुमजुङ’ एक वर्ष अघिसम्म अन्धकार थियो । सम्म परेका भूभाग, माटोको छाना, साना र साँधुरा कोठा रातमा उज्यालोको एउटा सहारा टुकीको धिपधिपे बत्ती मात्र हुन्थ्यो ।
कुल ३७ घर परिवार रहेको ‘चुमजुङ’ एक वर्षसम्म अघिसम्म सञ्चार सुविधा नपुगेको सो गाउँमा अहिले व्यापक परिवर्तन भएको छ । अहिले सबैका घर मात्र होइन बाटो र चोकमा पनि राती बत्ती झलमल छन् । फुस्रा र सुक्खा पहाडबीचको यो गाउँमा निरन्तर चलिरहने तीव्र गतिको सुक्खा हावाले दिक्क हुन्थे स्थानीय वासिन्दा । अहिले त्यही हावाबाट निकालिएको बिजुली वरदान भएको छ स्थानीयलाई ।
हावाबाट बिजुली बल्न थाले पछि गाउँमा फोनको सुविधा पनि सहज भएको छ । विद्यालयमा टेलिभिजन पनि जोडिएको छ । चुमजुङलाई समृद्ध बनाउने भनेर वडा सदस्य बनेकी सिचुङ गुरुङ जेठ लागेदेखि नै फुरुङ्ग हुनुहन्छ ।
बेलाबखत गाउँमा आउने नेता र केन्द्र सरकारको नेतृत्वले देखेको एउटा सपना आफ्नै गाउँमा साकार बनाउने अभियानमा सहभागी हुन पाएकामा उहाँ उत्साहित हुनुहुन्थ्यो ।
एकोहोरो सुसाइरहने हावा र पारिलो घाम उपयोग गरेर बिजुली बाल्न सकिन्छ भन्ने लागेको थिएन । तर एक वर्ष भित्रै गाउँमा एउटा टावर जोडियो, हेर्दा हेर्दै फिरफिर घुमिरहने पङ्खा पनि जोडियो, नजिकै घामतिर फर्काएर चिल्ला ठूला पाता (सोलार प्यानल) जोडिए ।
“यस्तो दुर्गम ठाउँका वासिन्दाले यति छिटै बिजुली बाल्न, गाउँमै टीभी हेर्न पाउने सोचेकै थिएनांैँ,” स्थानीयलाई आयोजना हस्तान्तरण गर्न पुगेका अधिकारीहरुलाई लक्ष्यित गर्दै सिचुङले भन्नुभयो, “तपार्इंहरूले यस्तो दिनु भयो । कति धेरै खुसी छु भन्नै आउँदैन, धन्यवाद…….।”
यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।