काठमाडौं, २५ जेठ । वाइड बडीमाथि छानबिन गरिरहेको संसदीय समितिले चार वर्षअगाडि किनिएका एयरबसकै दुइटा न्यारो बडी जहाजमा पनि अनियमितता भएको औंल्याएको छ। नेपाल वायुसेवा निगमले ल्याएका ए ३२०–२०० सिरिजका न्यारोबडीमा पनि खरिद प्रक्रिया मिचेको र बजार मूल्यभन्दा बढी रकम खर्चिएर अर्बौं रुपैयाँ हानि पुर्याएको समितिको ठम्याइ छ।
ती जहाज हालका कार्यकारी अध्यक्ष मदन खरेल महाप्रबन्धक हुँदा किनेका हुन्। असार १४ र साउन १० मा भित्र्याएका ए३३०–२४३ वाइड बडी भने भर्खरै बाहिरिएका महाप्रबन्धक सुगतरत्न कंसाकारले ल्याएका हुन्।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अनियमितताको निचोडसहित यसमा छलफल सुरु गरेको छ। वाइड बडीका सम्बन्धमा छलफल गर्न शुक्रबार डाकिएको बैठकमा पत्रकारलाई निषेध गरिएको थियो। बैठकमा न्यारो बडीका विषयमा पनि गहन छलफल भएको एक सहभागीले बताए।
समितिले वाइड बडी खरिद छानबिन गर्न दीपकप्रकाश भट्टको संयोजकत्वमा गत मंसिर १९ गते उपसमिति गठन गरेको थियो। उपसमितिमा दिव्यमणि राजभण्डारी, रेनुका गुरुङ, सरलाकुमारी यादव र सुदन किराँती सदस्य छन्।
उपसमितिले पाँच महिना लगाएर तयार पारेको प्रतिवेदन वैशाख २० गते नै समिति सभापति पवित्रा निरौलालाई बुझाएको थियो। प्रतिवेदनमाथि शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको पूर्ण बैठकमा छलफल सुरु भएको हो।
यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।