काठमाडौं, ८ जेठ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राजस्व असुलीमा सदाचारिता कायम राख्न राजस्व विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको स्पष्ट पार्नु भएको छ । अर्थमन्त्री खतिवडाले राजस्व विभाग प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय मातहत आएपछि राजस्व हिनामिना गर्नेहरुलाई कार्वाहीको दायरामा ल्याउन सफलता हात परेको दावी पनि गर्नु भयो ।
बुधबार ‘राजस्व चुहावट, अनुसन्धान र नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ माथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले स्वच्छ राजस्व प्रशासन कार्यालय कायम गराउन पनि राजस्व विभागलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको मातहत राख्दा सहज भएको बताउनुभयो ।
अर्थमन्त्री खतिवडाले कर छली गर्ने जोकोहीलाई पनि कार्वाहीको दायरामा ल्याउने चेतावनी पनि दिनु भयो । विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा सांसदहरुले राजस्व हिनामिना गर्ने कर्मचारीमाथि कडा कार्वाही हुने प्रावधान विधेयकमा राख्न माग गरेका थिए ।