काठमाडौं, १८ बैशाख । राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले उद्योग–मजदुर कसैको पनि सुरक्षा गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गर्नु भएको छ ।
बुधबार १ सय ३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता महतोले उद्योगधन्दा स्थापनाका लागि आवश्यक वातावरण नबनाएको भन्दै प्रधानमन्त्रीको आलोचना गर्नूभएको हो ।
बहुराष्ट्रिय कम्पनीहरु रातारात भाग्ने काम गरिरहेको उल्लेख गर्दै त्यसलाई रोक्ने गरी ऐन, कानुन र सुरक्षाको उचित प्रबन्ध गर्न पनि प्रधानमन्त्री ओलीको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।
नेता महतोले लाखौं युवाहरु श्रमको खोजीमा विदेशिदा पनि सरकारले देशमै रोजगारी हुने गरी उद्योगको विकासका लागि उचित वातावरण बनाउन नसकेको आरोप लगाउनु भयो । उहाँले विदेशी लगानी भित्र्याएर मुलुकमा उद्योगधन्दाको विकास हुने गरी नीति तथा कार्यक्रम र योजना ल्याउन पनि सरकारसँग माग गर्नु भयो ।