जिउँदै जलाइएकी कञ्चनको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

जिउँदै जलाइएकी कञ्चनको मृत्यु

kanchan ko mrityu

सिरहा/काठमाडौं, १४ बैशाख । सिरहामा आफ्नै पति र सासुद्वारा जिउँदै जलाइएकी २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेको मृत्यु भएको छ । राजधानीको साँखुस्थित सुषमा कोइराला मेमोरियल अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

कल्याणपुर नगरपालिका ८ की खत्वेलाई उनकै पति बेचन मण्डल र सासु सुर्जी खत्वेले बिहीबार जलाएका हुन् ।

सुष्मा कोइराला मेमोरियल अस्पतालका निर्देशक तथा प्लास्टिक सर्जन डा. जसवान शाक्यका अनुसार कञ्चनको शरीरको ८५ प्रतिशत भाग जलेको थियो । ‘टाउकाको पछाडिको थोरै भाग र अनुहारको आधा भागबाहेक सबै जलेको थियो,’ उनले भने, ‘४० प्रतिशतभन्दा बढी जलेका बिरामीलाई बचाउन गाह्रो हुन्छ ।’

जिल्लाबाट उनलाई ८ घण्टा लगाएर एम्बुलेन्समा राजधानी ल्याइएको थियो । यो अवधिमा कुनै उपचार नपुगेकाले अवस्था जटिल बनेको डा. शाक्यले बताए । ‘अस्पताल ल्याउँदासम्म मुटु र मिर्गौलाले काम गर्न छाड्ने स्थिति बनिसकेको थियो, इमर्जेन्सीबाट आईसीयूमा पुर्‍याउँदै गर्दा मृत्यु भइहाल्यो,’ उनले भने ।

जलिरहेकी कञ्चनलाई छिमेकीले तत्कालै उद्धार गरी मिर्चैयास्थित मंगलम हेल्थ केयर सेन्टर पुर्‍याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिहीबारै धरान लगिएको थियो । धरानमा पनि सम्भव नभएपछि उपचारका लागि काठमाडौ ल्याइएको थियो ।

घटनालगत्तै प्रहरीसमक्ष दिएको बयानमा पीडित कन्चनले भान्सामा खाना पकाउने क्रममा घरायसी विवाद हुँदा बिहीबार बिहान सवा ९ बजे आफूलाई पति बेचन र सासु सुर्जी मण्डल खत्वेले आगो लगाएको बताएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद खरेलले जानकारी दिए । उनले घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जानकारी दिए ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);