काठमाडौं, २८ चैत । सरकारले बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको स्पष्टिकरण दिएको छ । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री निवासको जग्गा नेकपाका महासचिव विष्णु पौडेललगायतले किनेको भन्ने समाचार बाहिर आएपछि सरकारका प्रवक्ता समेत रहेका उनले सो जग्गा किनबेच नभएको स्पष्ट पारेका हुन् ।
बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले शारदाप्रसाद त्रिताल नेतृत्वको छानवीन समितिले दिएको सुझावको आधारमा प्रधानमन्त्री निवास नजिकैको ललिता निवासको जग्गाको विक्रीवितरणमा पनि रोक लगाइएको उनले बताए ।
मन्त्री बास्कोटाले सरकार कुनै पनि सार्वजनिक वा सरकारी जग्गाको संरक्षण गर्न प्रतिवद्ध रहेको उनको भनाई थियो । उनले नेकपाका महासचिव पौडेलले सो जग्गा किनबेचमा फर्जी नगरेको बरु आफै ठगिएको बताए ।
फरक प्रसंगमा मन्त्री बास्कोटाले सरकारी चिकित्सकहरुलाई आन्दोलन छाडेर आफ्नो काममा फर्कन आह्वान गरे । उनले सरकारी चिकित्सकहरुको जायज माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको बताए ।
मन्त्री बास्कोटाले जनतालाई सेवा दिने कुरामा बेवास्ता गरिरहे सरकारी चिकित्सकहरुलाई कडा कार्वाही गर्ने चेतावनी समेत दिए ।