टिका खतिवडा
इलाम, २१ चैत । पुर्व राजा ज्ञानेन्द्र शाह बिहीबार इलाम पुगेका छन् । इलाम पुग्नु भएका पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजावादीहरुले बाजागाजाका साथ भव्य स्वागत गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह पछिल्लो समय देशका विभिन्न धार्मिक स्थानको भ्रमणमा व्यस्त देखिएका छन् । यस क्रममा पूर्व राजा शाह बिहिबार इलाम पुगेका छन् । इलामको माइस्थान मन्दिर दर्शनका लागि जांदा पुर्व राजालाई स्थानीय राजावादीहरुले बाजागाजाका साथ भव्य स्वागत गरे ।
पाँचथर भ्रमण सकेर इलाम पुगेका शाहलाई स्वागतका लागि राजावादीहरुले बिहानैदेखि नै तयारी गरेका थिए । पञ्चकन्या, सांस्कृतिक बाजागाजा, नृत्यका साथ पुर्व राजालाई स्वागत गरिएको थियो ।
शाहको स्वागतका लागि जिल्लाका विभिन्न गाउँगाउँबाट नागरिकहरु उपस्थित भएका थिए । स्वागतका लागि बालबालिकादेखि वृद्धवृद्धा समेत सहभागी थिए । सदरमुकामस्थित समिट होटलबाट नविन चोकसम्म गाडीबाट जानु भएका पुर्व राजा नविन चोकदेखि माइस्थान मन्दिरसम्म पैदल हिंडेर पुगेका थिए । माईस्थान मन्दिरमा पूर्व राजा शाहले करीव आधा घण्टा पूजापाठ गरेका थिए । स्वातगका लागि पुगेका स्थानीयहरुले शाहको पक्षमा विभिन्न नारा समेत लगाएका थिए ।
राज संस्था हटेको दशक विति सकेपनि पूर्व राजा इलाम पुग्दा तत्कालिन राजाकै झल्को पाईन्थ्यो । सर्वसाधारणको उपस्थितिदेखि पूर्व राजाको जयजयकारले पुरानै झल्को दिएको उपस्थिति भीडले देखाउथ्यो ।