झापा, २४ फागुन । आयोजक झापा–११ चौंथो संस्करणको झापा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा थ्री स्टार क्लबलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै झापा उपाधि नजिक पुगेको हो ।
योसंगै झापाले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाउन सक्यो । डोमालाल राजवंशी रंगशालामा निर्धारित समय र १५ मिनेटको अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
पेनाल्टीमा झापाका पुजन उपरकोटी, देवेन्द्र तामाङ र दिनेश थापामगरले गोल गरे । थ्री स्टारका रन्जित धिमालले मात्रै १ गोल गरे । योसँगै झापाले उपाधिका लागि क्यामरुनी क्लब दाउफिन्स र त्रिभुवन आर्मी क्लबबीचको विजेतासंग खेल्नेछ ।
यसअघि झापाले नेप्लिज एकेडमी हङकङलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो । यस्तै थ्री स्टारले नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ३–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको थियो । १० टोली सहभागी प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ हात पार्नेछ ।