काठमाडौं, ८ फागुन । सांसद विरोध खतिवडाले नेपालमा बैधानिक ढंगले गाँजा खेती गर्ने व्यवस्था मिलाउन सरकारसंग माग गरेका छन् । प्रतिनिधीसभाको बुधवारको बैठकमा सांसद खतिवडाले विदेशका कयैन देशमा पनि गाँजा खेती गर्न छुट रहेको भन्दै नेपालमा पनि यस्तो व्यवस्था गर्न माग गरे ।
संसदमा बुधवार नयाँ विषयले निकै चर्चा पायो । त्यो, हो गाँजा खेती । बुधवार करीब २ बजे तिर शुरु भएको संसद बैठकमा संसदहरुले पालै पालो आफ्नो धारण राख्दै गए । पालो आयो सांसद विरोध खतिवडाको ।
उनले बैठकमा गाँजाको महत्वकोबारे विस्तृत व्याख्या मात्र गरेनन, घुमाउरो भाषामा नेपालमा गाँजा खेती गर्न अनुमति दिनुपर्ने समेत बताए ।
हुनत, खतिवडा सधै फरक र केही नयाँ विषय उठाउने सांसदका रुपमा चिनिन्छन् । उनले बुधवार पनि गाँजा खेतीको बारेमा यसरी कुरा उठाउलान भन्ने कसैले अनुमानसम्म गरेका थिएनन ।
तर, सांसद खतिवडाले अन्य सांसदको समेत ध्यान खिच्दै विदेशका कैयौ देशमा गाँजा खेती गर्न छुट रहेको भन्दै नेपालमा पनि त्यस्तो व्यवस्था मिलाउन सरकारसंग माग गरे ।
आयुर्वेद विज्ञानमा गाँजा आँखारोग, मुर्छा पर्ने, अनिन्द्रा, अल्जाइमर्स, शारीरिक पीडामा अचुक औषधीको रुपमा प्रयोग गरिन्छ । सरकारले पनि विभिन्न रोगको औषधीमा प्रयोग गर्न विदेशबाट आयात गरिरहेको छ ।
तर, विहान के खाउँ के लाउँ भन्ने चेपाङ र तामाङ समुदायको रोजगारीको गतिलो माध्यम बनेको गाँजा खेतीका लागि सरकारी नीति तगारो बनेको सांसद खतिवडाको भनाई थियो ।