चितवनको राप्ती नदीमा २४ वटा घडियाल गोही छाडियाे | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

चितवनको राप्ती नदीमा २४ वटा घडियाल गोही छाडियाे

राजेन्द्र आचार्य

चितवन, ४ फागुन । चितवनको राप्ती नदीमा २४ वटा घडियालहरु छाडिएका छन् । राष्ट्रिय निकुञ्ज अन्तर्गतको घडियाल प्रजनन् केन्द्र कसराले प्राकृतिक वातावरणमा हुर्किन दिन ती घडियाललाई राप्ति नदीमा छोडेको हो ।

विगत पाँच वर्षदेखि चितवनको घडियाल प्रजनन् केन्द्र कसराको संरक्षणमा रहेका २४ वटा घडियाललाई राप्ती नदीमा छाडिएको छ । छाडिएका घडियालहरुलाई जिपिएस प्रणालीबाट नियमित अनुगमन र रेखदेख गरिने गरी प्राकृतिक वातावरणमा हुर्किन दिनलाई राप्ती नदीमा छोडिएको हो । केन्द्रले प्रजननकै लागि विभिन्न नदीहरुमा ७ सय घडियाल छाडेको छ ।

यस वर्ष एक सयको हाराहारीमा गोही छाड्ने कार्यक्रम अन्तर्गत अहिले राप्तीमा २४ वटा घडियाल छाडिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । नदीको इको सिस्टमलाई जोगाउन पनि यसले महत्वपूर्ण भुमिका निर्वाह गर्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए ।

घडियाल प्रजनन् केन्द्र कसरामा हुर्काएर हालसम्म देशका विभिन्न नदीमा एक हजार ३८० गोही छाडिएका छन् । प्रजनन केन्द्रमा हाल ५०० भन्दा बढी गोही रहेका छन् । पाँच वर्ष उमेरका गोहीलाई नदीमा छाड्ने गरिन्छ ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले यसै कार्यक्रममा बोल्दै घडियालको संरक्षण अपरिहार्य भएको भन्दै सरोकारवाला निकायहरूसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्नुपर्ने बताइन् ।

पछिल्लो गणनाअनुसार राप्तीमा एक सय १८ र नारायणी नदीमा एक सय १ गोही रहेका छन् । निकुञ्जका अनुसार सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो ।

प्रजनन केन्द्रमा हुर्काएर हालसम्म राप्ती नदीमा यो सहित ७ सय गोही छाडिसकिएका छन् । नारायणीमा तीन सय ९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबईमा एक सय दश गोही छाडिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);