काठमाडौं, ४ फागुन । कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) पार्टीमा नेता उत्पादनको नर्सरी मानिन्छ । कांग्रेसको अहिलेको केन्द्रीय राजनीतिमा स्थापित भएका सभापतिदेखि केन्द्रीय सदस्यहरूसम्मको अनुहारले पनि नेविसंघ नेता उत्पादन गर्ने नर्सरी भएको प्रस्ट्याउँछ । पञ्चायती व्यवस्था सुरु भएपछि कांग्रेसका विद्यार्थी नेताहरू संगठित हुँदै ०२७ सालमा नेविसंघ स्थापना गर्न पुगेका थिए । विपिन कोइरालाले मार्सलजुलुम शाक्यलाई एक मतले पराजित गरेर पहिलो सभापति भएको ४८ वर्षसम्म आइपुग्दा १८ जनाले कांग्रेसको सबैभन्दा ठूलो भ्रातृसंस्थामा सभापति हुने मौका पाएका छन् । जसमा ६ निर्वाचित, पाँच सर्वसम्मत र सात सभापति तदर्थ समितिबाट छानिएका छन् ।
महाधिवेशन गर्ने र नगर्नेको यस्तो छ इतिहास
१८ सभापतिमध्ये एक मात्र सभापतिले समयमै अर्थात् निर्वाचित भएको दुईवर्षे कार्यकालभित्रै महाधिवेशन गरी नेतृत्व हस्तातरण गरेका छन् । पार्टी फुट्नुअघि ०५७ सालमा आठौँ महाधिवेशनबाट सभापतिमा चुनिएका विश्वप्रकाश शर्माले ०५९ मा नवौँ महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गरे । तर, अरू कुनै पनि सभापतिले नियमित कार्यकालमा महाधिवेशन गर्न सकेनन् । बरु, प्रभावशाली नेता उत्पादन गरेको, पार्टी गणतन्त्रमा जान खुट्टा कमाउँदै गर्दा गणतन्त्रको बिगुल फुकिसकेको, शैक्षिक मुद्दा उठाउने, जनजीविकका सवालका विषय उठाउने नेविसंघ नेताहरूको गुटगत राजनीतिको सिकारले ग्रस्त हुँदै आएको छ । निर्वाचित सभापतिले महाधिवेशन गर्न नसक्ने, तर तदर्थ समितिलाई महाधिवेशन गराउन सहयोग गर्ने पार्टीको नीतिले पनि नेविसंघ गुटगत राजनीतिले ग्रस्त भएको देखाउँछ ।
०२७ सालमा विपिन कोइराला सभापति भएको दुई वर्ष नपुग्दै ०२८ सालमा शेरबहादुर देउवा नेविसंघको सर्वसम्मत रूपमा सभापति भए । पञ्चायती व्यवस्थाको मध्य समयको अप्ठ्यारो राजनीतिक अवस्थामा दोस्रो महाधिवेशन गराउन देउवालाई नौ वर्ष लाग्यो । देउवा जेल परेकाले बलबहादुर केसी कार्यबाहक सभापति बनाइएका थिए । ०३६ सालमा देउवा नेतृत्वले तेस्रो महाविधेशन गराउँदा विमलेन्द्र निधि सभापतिमा चुनिए ।
यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।