काठमाडौं, २२ माघ । आर्थिक लेनदेनको विवादमा थापाथलीस्थित प्रसुति गृहकी चिकित्सक बबिता शाहकी २ वर्षीया छोरी सन्दिज्ञालाई अपहरण गर्ने मुख्य अभियुक्तलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर, काठमाडौंले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो बच्चा अपहरण प्रकरणका मुख्य अभियुक्त जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ का मनिषकुमार गुप्तालाई पक्राउ गरी काठमाडौंमा सार्वजनिक गरेको हो ।
मंगलबार विहान भिटाटोल नेपाल–भारत बोर्डर नजिक लुकीछिपी हिँडिरहेको अवस्थामा अभियुक्त गुप्तालाई प्रकाउ गरिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिए ।
यस अघि माघ ११ गते गुप्ताले कोटेश्वरस्थित चिकित्सक शाहको घर भित्रैबाट बच्चा अपहरण गरेका थिए । गुप्ताले प्रहरीको घेरामा परेपछि काठमाडौंको गौशालाबाट बच्चा छोडी फरार भएका थिए ।
मुख्य अभियुक्त गुप्ताले अपहरण गरेपछि पैसा नदिएमा बच्चा जे पनि हुन सक्छे भन्दै धम्की दिए पश्चात पठाइएको फिरौति रकम १ लाख ५० हजार रुपैयाँ बुझ्ने उनकी श्रीमति अर्चना कुमारी गुप्तालाई घटना घटेकै दिन पक्राउ गरी प्रहरीले काठमाडौं ल्याएको थियो ।
अभियुक्त दुवै जनालाई अपहरण तथा सरिर बन्धक सम्बन्धि मुद्दा चलाई आवश्यक कार्वाही प्रक्रिया सुरु गरिएको पनि प्रहरीले जनाएको छ ।