तेज बोहरा
कैलाली, १० माघ । सुदूरपश्चिमलाई कुखुराको अण्डामा आत्मनिर्भर गर्ने उद्देश्यका साथ बिगत तीन बर्षदेखि कञ्चनपुरको कृष्णपुरमा तीनजना युवा मिलेर कुखुरापालन गर्दै आएका छन् । रोजगारीका लागि बार्षिक लाखौं युवाहरु बिदेशिरहेका बेला यी ब्यवसायीहरु सबैका लागि उदाहरण बनेका छन् ।
देशबाट रोजगारीका लागि बिदेशिने युवाको संख्या बर्षेनी बढिरहेका बेला मेहनत गरे स्वदेश मै पनि पर्याप्त आम्दानी गर्न सकिने उदाहरण बनेका छन् – कञ्चनपुरका तीन व्यवसायी ।
सुदुरपश्चिमलाई अण्डामा आत्मनिर्भर बनाउने उद्देश्यका साथ बिगत तीन बर्षदेखि कञ्चनपुरको कृष्णपुर नगरपालिका–२, बिचुवामा उनीहरुले कुखुरापालन गर्दै आएका छन् । आठ बर्ष संयुक्त अरब ईमिरेट्समा मजदुरी गरेर फर्किएका शंकर साउद र नेपाल मै व्यापार गरिरहेका नरेन्द्र शाही तथा रबिन्द्र खड्का मिलेर आर.वि एग्रो फार्म सञ्चालन गरेका छन् ।
यो आर वि एग्रो फार्मको १६ वटा खोरमा अहिले १२ हजार ५ सय कुखुरा पालिएका छन् । करीब दुई करोड लगानीबाट शुरु गरेको कुखुरा र अण्डा सुदूरपश्चिमका विभिन्न जिल्लामा पुग्ने गरेको अर्का संचालक रबिन्द्र खड्काले बताए ।
उनले सरकारी अनुदान नहुँदा आम्दानी राम्रो भएपनि लगानीका लागि बैंकबाट लिएको ऋणको ब्याज तिर्न मै जाने गरेको दुखेसो पोखे । काम गर्ने व्यक्तिका लागि सरकारले अनुदान तथा सहुलियत ऋणको कार्यक्रम ल्याए मेहनत अनुसार आम्दानी हुने खड्काको भनाई छ ।
सदूरपश्चिम प्रदेशमा अहिले वार्षिक १२ करोड अण्डाको माग छ । त्यसमा आन्तरिक उत्पादन करीब ४ करोड बराबरको छ । त्यसमध्ये आर.बी.एग्रो फर्मले दैनिक साढे ६ हजार अण्डा उत्पादन गर्दै आएको छ ।
कुकुरा पालनबाट खुसि देखिएका तीनैजना संचालकले देशमा स्वरोजगार बनी राम्रो आन्दानी गर्न सजिलो भएपनि त्यस अनुसारको सरकारसंग स्पष्ट नीति नहुँदा कहिले काँही समस्या हुने गरेको बताउँछन् ।