काठमाडौं, १० माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वमन्त्री गगन थापाले सभामुखको भूमिका तटस्थ र सरकार जिम्मेवार नभए भोलि बस्ने संसद बैठकमा मुठभेड हुनसक्ने चेतावनी दिएका छन् ।
नेता थापाले सभामुख कृष्णबहादुर महराले सरकारको आदेश पालना गरेर संसदीय मूल्य मान्यता विपरितको गतिविधि गरिरहेको उल्लेख गर्दै मान्य नहुने पनि स्पष्ट पारे । बिहीबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ संसदबाट झुक्याएर पारित गराउने प्रयास सभामुखबाट भएको उल्लेख गर्देै असन्तुष्टि पनि व्यक्त गरे । सभामुख महरा मन्त्रीहरुको इशारामा चल्न गरेको उनको आरोप छ ।
नेता थापाले भोलि माघ ११ गते बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख महराले आफूहरुसँग परामर्श गरेर मात्रै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अघि बढाउने विश्वास व्यक्त गरे । उनले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको अस्पताल खारेज गर्ने काम नगर्न पनि सरकारलाई अनुरोध गरे ।