ट्राफिक लाइटको बिजोग : २० ठाउँमा छ, ४ वटा मात्रै बल्छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ट्राफिक लाइटको बिजोग : २० ठाउँमा छ, ४ वटा मात्रै बल्छ

traffic light

काठमाडौं, ५ माघ । उपत्यकाका २० स्थानमा ट्राफिक लाइट छन्। तर बल्छन्, चार स्थानका मात्रै। २०५८ सालमा जापान सरकारको सहयोगमा राजधानीका १० स्थानमा ट्राफिक लाइट जोडियो। केही वर्ष बल्यो। २०६७ सालसम्म आइपुग्दा सबै स्थानका लाइट चल्न छाडे। केही समय जापान सरकारकै सहयोगमा ट्राफिक इन्जिनियर आएर लाइटको रेखदेख गरेर सरकारलाई बत्ती हस्तान्तरण गरेको थियो।

काठमाडौं उपत्यकामा अहिले दैनिक १४ लाख सवारी चल्छन्। प्रायः सबै संघीय इकाइ (तत्कालीन अञ्चल)मा दर्ता भएका सवारी उपत्यकामा भित्रिने र बाहिरिने गर्छन्। सवारीसाधनको चाप बढेसँगै ट्राफिक व्यवस्थापनका भौतिक पूर्वाधार निर्माणमा भने सरकार चुकेको देखिन्छ। उपत्यकामा अहिले नारायणगोपाल चाके, केशरमहल, राष्ट्रिय संग्रहालयको दक्षिण गेट, पुतलीसडक, पद्मोदय मोड, सिंहदरबार, माइतीघर, थापाथली, कालिमाटी, गौशाला, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, मुनिभैरव, जडिबुटी, ठिमी चोक, सूर्यविनायक, कौशलटार, गठ्ठाघर र सल्लाघारीमा ट्राफिक लाइट छन्। नारायणगोपाल चोक, नयाँ बानेश्वर, ठिमी चोक र गठ्ठाघरका बाहेक लाइट चालू छन्। तर सवारी चापका कारण यी लाइट पनि प्रहरीले नियमानुसार चलाउन सकेको छैन।

ट्राफिक लाइट एक स्थानमा चल्ने र अर्को स्थानमा नचल्ने भएपछि सवारी व्यवस्थापन झनै बोझिलो देखिएको छ। थापाथली, सिंहदरबार, कोटेश्वर र माइतीघरमा लाइट नचल्दा त्यहाँबाट आउने सवारीको सबै बोझ नयाँ बानेश्वरमा पर्दै आएको छ। गौशाला, केशरमहल, पद्मोदय मोड, पुतलीसडक र संग्रहालयमा लाइट नचल्दा उक्त रुटबाट चल्ने सबै सवारीको लोड नारायणगोपाल चोकमा पर्दै आएको छ।

पेडेस्ट्रियन कन्ट्रोल लाइट पनि चल्दैन

सरकारले पैदलयात्रुलाई बाटो काट्न सजिलो होस् भनेर पाँच वर्षअघि उपत्यकाका १० स्थानमा पेडेस्ट्रियन कन्ट्रोल लाइट राख्यो। तर अहिले अधिकांश बल्दैनन्। त्रिचन्द्र कलेज, वागदरबारस्थित काठमाडौं महानगरपालिका, भोटेबहाल, कालिमाटी, खिचापोखरी मोड, शंकरदेव क्याम्पस, सिंहदरबार चोक, अल्का अस्पताल, कालिमाटीस्थित साल्ट टेड्रिङ र दमकल मोड पुल्चोकमा यस्तो लाइट जोडिएको छ। तर अहिले पुतलीसडकस्थित शंकरदेव क्याम्पस, साल्ट टेड्रिङअघि र दमकल मोड पुल्चोकमा मात्रै यी लाइट चालु छन्।

यी हुन् नयाँ प्रस्तावित ठाउँ

चाबहिल, पुरानो बसपार्क, मैतीदेवी, बबरमहल, त्रिपुरेश्वर, कृष्ण पाउरोटी, ल्होत्से चोक, लैनचौर, खानी विभाग, सोह्रखुट्टे, हलचोक, बालाजु, एयरपोर्ट गोल्डने गेट, ग्वार्को, सातदोबाटो, जावलाखेल, पुल्चोक, एकान्तकुना, महालक्ष्मीस्थान, पेप्सीकोला चोक, कुपन्डोल, टेकु, ज्ञानेश्वर, नयाँ बसपार्क गेट, सामाखुसी चोक, कलंकी, बल्खु, गैरीधारा, इटालियन एम्बेसी मोड, सिंहदोबाटो, हात्तीसार चोक।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);