राकेश यादव, रौतहट, १३ भदौ ।
दुई नम्बर प्रदेशमा तेस्रो चरणमा हुन लागेको स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै रौतहटमा चुनावी चहलपहल बढेको छ । विभिन्न राजनीतिक दलहका नेताहरु मतदाताको घरघरमा पुगि मन जित्ने प्रयास गरिरहेका छन् ।
चुनाव नजिकिदैं गएसँगै राजनीतिक दलका नेताहरुलेबाढीले अति प्रभावित रौतहटका पीडितहरुलाई भेटेर सान्त्वना दिन थालेका छन् । रौतहटका जनताका लागि अहिले आवश्यक मानिएको राहतको आश्वासन दिदै उनीहरु मत माग्नमा व्यस्त छन् ।
यता स्थानीय भने बाढी र डुबान पछि आफूहरुले भोगेका समस्याप्रति राजनीतिक दलहरुले चासो नदिएको बताउछन् । आफूलाई आपतका बेला सहयोग गर्नेलाई मात्र मत हाल्ने उनीहरु बताउछन् ।
नेताहरु मत माग्न गाँउगाँउ डुलिरहदाँ भने मतदातालाई मतदान केन्द्रसम्म जाने बाटो समेत बाढीले बगाएको छ ।बाढीले प्रभावित अधिकांश पीडितको अवस्था सुधार हुन सकेको छैन । त्यसैले बाढीले प्रभावित रौतहटबासीलाई अहिले अनेकन आश्वासन भन्दा पनि तत्कालका लागि उनीहरुको गाँस वासको व्यवस्थापन जरुरी देखिन्छ ।