काठमाडौं, ४ पुस । भैरहवा ग्लाडीयटर्स राजधानीमा जारी टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार भएको इलिमिनेटरमा पृथु बास्कोटाको टिम चितवन टाइगर्सलाई ४ विकेटले पराजित गर्दै भैरहवाले क्वालिफायरमा स्थान बनाएको हो ।
त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १४० रनको लक्ष्य भैरहवाले १८ ओभर २ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । टस हारेर पहिले ब्याटिङ गरेको चितवनले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १३९ रन जोडेको थियो ।
चितवनको सम्मान जनक स्कोरमा दिपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङस खेले । उनी ५६ रनमा आउट भए । यस्तै चितवनका लागि पाउल स्टर्लिङ र जोन सिम्प्सन समान १४/१४ रन जोडे ।
कमल सिंह ऐरी १३ रनमा आउट भए । भैरहवाका मोहमद नाभिदले ३ तथा अविनाश बोहराले २ विकेट लिए । यता भैरहवाका लागि प्रदीप ऐरीले ४२ रन जोड्दा कप्तान शरद भेषावकरले २९ रन जोडे ।
यस्तै कुशल मल्ल २७ रनमा अविजित रहदा रोहित कुमार पौडेल २४ रनमा अविजित रहे । कुशल र रोहितले सातौं विकेटका लागि ५१ रनको साझेदारी गरे । चितवनका कमल सिंह ऐरीले ३ विकेट लिए । ललित भण्डारी र दिपेन्द्र सिंह ऐरीले एक/एक विकेट लिए ।
भैरहवाले फाइनल प्रवेशका लागि बिहिबार हुने दोस्रो क्वालिफायरमा काठमाडौं किङस इलाभेनसंग खेल्नेछ । चितवन भने प्रतियोगिताबाट बाहिरिएको छ ।