काठमाडौं–तराई द्रुतमार्ग निर्माणको कार्य सहज बनाई दिन सेनाको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

काठमाडौं–तराई द्रुतमार्ग निर्माणको कार्य सहज बनाई दिन सेनाको आग्रह

काठमाडौं, १४ मंसिर । नेपाली सेनाले ‘काठमाडौं–तराई दू्रतमार्ग’ निर्माण कार्य अघि बढाउने सहज वातावरण बनाई दिन सरकारसँग आग्रह गरेको छ । ललितपुरस्थित खोकना र बुङमतीका स्थानीयले उचित मुआब्जा लगायतका माग राखि आन्दोलन गरिरहेका बेला नेपाली सेनाले स्थानीयको समस्या समाधान गरी सो द्रुतमार्ग निर्माण कार्य सहज ढंगले अघि बढाउने वातावरण बनाईदिन सरकारसँग आग्रह गरेको हो ।

शुक्रबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै नेपाली सेनाका इन्जिनियरिङ विभाग प्रमुख उपरथी योगेन्द्र खाँणले दु्रतमार्ग निर्माण कार्य अघि बढाउन समस्या देखिएको उल्लेख गर्दै तत्काल खोकनाबासीलाई उचित मुआब्जाको व्यवस्था गरेर सो द्रुतमार्ग निर्माण कार्यलाई सहज ढंगले अघि बढाउने वातावरण बनाई दिन सरकारसँग माग गरे ।

उनले सो द्रुतमार्गको प्रस्थान विन्दु खोकना नै उपयुक्त रहेको निष्कर्ष पनि सुनाए । बुङमतीबासीले फर्सीडोललाई प्रस्थान विन्दु बनाउने सहमति कार्यान्वयन गर्न दवाव दिईरहेका बेला नेपाली सेनाले भने खोकना नै उपयुक्त हुने निष्कर्ष संसदीय समितिमा सुनाएको हो ।

कम खर्च तथा भौतिक क्षति कम हुने र बाहिरी चक्रपथ पनि जोडिने भएकाले खोकना सो दु्रतमार्गको प्रस्थान विन्दुका लागि उपयुक्त हुने आफूहरुको निष्कर्ष रहेको पनि उपरथी खाँणले बताए ।

खोकनालाई प्रस्थान विन्दु बनाउँदा स्थानीयको जग्गा धेरै नपर्ने दावी गरिएको छ । उपरथि खाँणले सो दु्रतमार्ग एशीयाली विकास बैंकको डिजाईन अनुसार अघि बढाइएको बताए । तोकिएको समय भित्र पूरा हुने गरी सो द्रुतमार्गको पुल, टनेल र ढलको निर्माण कार्य एकैसाथ अघि बढाउने नेपाली सेनाको तयारी छ ।

नेपाली सेनाले सो दु्रतमार्गको विस्तृत अध्ययन प्रतिवेदन माघ महिना भित्र तयार हुने गरी काम भईरहेको जानकारी दिए । सेनाले सो द्रुतमार्गका लागि ९९ वटा पुल आवश्यक पर्ने जनाएको छ । त्यसैगरी आवश्यक टनेल र ढलको काम एकैसाथ अघि बढाउने उपरथी खाँणले बताए । उनले सो आयोजना तोकिएको ४ वर्ष भित्र सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गरे ।

नेपाली सेनाले सो दु्रतमार्गकोे कामलाई अघि बढाउन सेनालाई आवश्यक सेवा र सुविधा उपलब्ध गराउन पनि सरकारसँग माग गरेको छ । बैठकमा समितिका सदस्यहरुले दु्रतमार्ग निर्माणको काममा ढिलाई नगर्न नेपाली सेनालाई सचेत गराएका थिए ।

समितिका सदस्य एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले सो दु्रतमार्ग निर्माणको काम पारदर्शी ढंगले तोकिएको समय भित्र पूरा गर्न नेपाली सेनालाई सचेत गराए । उनले सो द्रुतमार्गको विस्तृत अध्ययन प्रतिवेदन छिटो तयार पार्नुपर्नेमा पनि जोड दिए ।

समितिका अर्का सदस्य टोपबहादुर रायमाझीले सो द्रुतमार्गको पुल, टनेल र ढलको काम एकसाथ अघि बढाउन नेपाली सेनाको गम्भिर ध्यानाकर्षण गराए । उनले सो द्रुतमार्ग निर्माणमा ढिलाई नहोस् भन्नेमा सचेत रहनुपर्ने आवश्यक्ता औंल्याए ।

४ वर्ष भित्र सम्पन्न गर्ने गरी सो द्रुतमार्ग निर्माणको जिम्मेवारी सरकारले नेपाली सेनालाई दिएको हो । तर ललितपुरस्थित खोकना र बुङमतीका स्थानीयले जग्गाको मुआब्जाको समेत व्यवस्था नगरेको भन्दै तत्काल सो दु्रतमार्ग निर्माणको काम अघि नबढाउन संसदीय समितिहरुलाई दवाव दिईरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);