प्रतिक्षा शर्मा
काठमाडौं, ८ मंसिर । सरकारले व्यवहारिकता नहेरी हचुवाका भरमा लिएको वैदेशिक नीतिका कारण बैदेशिक रोजगारीमा जाने कामदारले अनावश्यक दुःख पाएका छन् । सरकारले श्रमका लागि विदेशीनेहरुले सम्बन्धित देशको नेपाली दुताबासको स्वीकृति लिनुपर्ने नीति लिएपछि दशैं/तिहार मनाउन आएका कामदारहरु समेत फर्कन नपाएर अलपत्र परेका छन् ।
सरकारको नीति एक्कासी परिवर्तन हुँदा रोजगारीबाट विदामा आएकाहरु समेत फर्कन नपाउँदा आक्रोसित भएका छन् ।
सरकारले खाडी लगायत देशमा नेपाली घरेलु कामदारले विभिन्न समस्या भोग्न परेको भन्दै घरेलु काममा जान प्रतिबन्ध लगाएको छ । केही समय अघि श्रम, सामाजिक तथा सुरक्षा मन्त्रालयले मापदण्ड बनाएर सयुक्त अरव ईमिरेट्स लगायतका देशमा पठाउने तयारी गरेपनि कार्यन्वयनमा आउन सकेको छैन ।
अहिले विभागले घरेलु कामदार सम्वन्धी निर्देशनका कारण वेला वेलामा साइप्रस लगायतका देशमा जाने नेपाली महिला रोजगारीलाई रोक्दै आएको छ । यसले, टिकट काटिसकेका तथा जाने तयारीमा रहेका सयौं नेपाली कामदरहरु समस्या परेका छन् । सरकारले यसको पूर्व जानकारी नदिंदा टाढा टाढाबाट आएका कामदारहरु अन्योलनमा छन् । धेरै दिनको काठमाठडाैं बसाइले खर्चबाट आजित बनेका सेवाग्राहीहरु मर्कामा परेका छन् ।
यता, बैदेशिक रोजगार विभाग ताहाचल कार्यालयले भने यो समस्या अहिले देखिएको बताएको छ । ताहाचाल कार्यालय प्रमुख युवराज खतिवडाले यो व्यवहारिक समस्या देखिएपनि कानुनका कारण घरविदामा आएकाहरुलाई पुनः श्रम स्वीकृती दिन नमिल्ने बताए । उनले यसको विषयमा मन्त्रालयमा जानकारी गराईसकेको र मन्त्रालयबाट टुंगिएर आएपछि सुचारु हुने बताए ।
विभागका कर्मचारीहरुले भने धेरै सेवाग्राही भएका कारण सेवाग्राहीलाई सेवा दिनका लागि शनिबार पनि कार्यालय खुलाएर काम गरिरेहेको बताए पनि एक दिनमा सातसय सेवाग्राहीलाई मात्रै सेवा दिन मिल्ने बताए ।
पछिल्लो समयमा बैदेशिक रोजगारका क्षेत्रमा जाने कामदारको संख्यामा बृद्धि भएको छ । तर पनि विभागमा भने एक पछि अर्काे समस्या थपिदै गएको छ । विभागमा कहिले व्यवहारिक समस्या र कहिले नीतिगत समस्या देखिने गरेको छ ।
व्यवहारिक समस्या विभागले समाधान गर्दै आएपनि नियमन निकायले नियम विपरित भएको भन्दै कार्यालयका कर्मचारीहरु धमाधम पक्राउ पर्न थालेपछि विदशिने नेपाली कामदारले फेरी यो समस्या भोग्न वाध्य भएका छन् ।