धादिङ, ९ कात्तिक । दुर्घटना हुन सक्ने सम्भावित स्थल र विभिन्न मोडहरूमा सवारी साधनहरूका गति नियन्त्रण गर्न सडकमा जडान गरिएका ‘रबर सोल’ (स्पिड ब्रेकर) हरू उप्किएका छन् ।
दुर्घटना न्यूनीकरणका लागि पृथ्वी राजमार्गमा सवारीसाधनको गति नियन्त्रण गर्न जडान गरिएका रबर सोल, जुन एक हप्तामै उप्किएका छन् । पृथ्वी राजमार्गका सबैभन्दा बढी दुर्घटना भएका जोगीमाराको हुग्दी खोला पुलको मोड र गजुरीस्थित घाटबेंसीको बांगेमोडमा दुई साताअघि सडकमा रबर सोल जडान गरिएको थियो ।
गैरआवासीय नेपाली संघको आर्थिक सहयोगमा लाखौं रकम खर्च गरेर जडान गरिएका रबर सोल एक हप्तामै उप्किएका हुन् । फूलपातीको अघिल्लो दिनमा गजुरीस्थित जिल्ला ट्राफिक प्रहरीलाई हस्तान्तरण गर्ने योजना जडान गरेको एक हप्तामै उप्किएपछि हस्तान्तरण कार्यक्रम स्थगित गरिएको जिल्ला ट्राफिक इन्चार्ज हेमराज घिमिरेले बताए ।
‘रबर सोल जडान गर्ने जिम्मा लिएको ठेकेदार कम्पनीको लापरबाही र अनभिज्ञताले उक्त योजना असफल हुन गयो,’ एनआरएनएका प्रमुख कार्यकारी अधिकृत हेमन्त दवाडीले भने, ‘पुन जडान कार्यका हामी थप छलफल गर्दै छौं, रकम भुक्तानी पनि रोकेर दक्ष कम्पनीको खोजीमा छौं ।’ हाल रबर सोल जडान भएको जोगीमाराको हुग्दी खोला पुलमा पहिला ८ दर्जन सवारीसाधन खसेका थिए ।
घाटबेंसी बांगेमोडमा भएका दुई ठूला बस दुर्घटनामा ८० जनाको मृत्यु भएको थियो । गत वर्षको कात्तिक ११ गते सप्तरीबाट आएको बस दुर्घटना हुँदा यसै मोडमा ३४ जनाको मृत्यु भएको थियो । राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि पृथ्वी राजमार्गमा नयाँ प्रविधिको प्रयोग सुरु गरिएको थियो । राजमार्गका अत्यधिक सवारी दुर्घटना हुने क्षेत्रमा अहिले रबर स्पिड ब्रेकर राख्न सुरु गरिएको हो ।
पृथ्वी राजमार्गमा यो प्रविधिको प्रयोग पहिलो पटक भएको छ । यसरी राखिएको स्पिड ब्रेकरमा सवारीसाधन आइपुगेपछि सवारी चालकले स्पिड घटाउने भएका कारण दुर्घटनाको सम्भावना कम हुने प्राविधिकको विश्वास छ । स्पिड ब्रेकर सवारी दुर्घटना अत्यधिक हुने घुम्तीको तीन सय मिटर अगाडिदेखि राखिएको छ ।
स्पिड ब्रेकरमा आएपछि चालक आफैं जानकार भई गाडीलाई कम गतिमा लगेर सुरक्षित बनाउन सजग गराउने उद्देश्यले राजमार्गमा स्पिड ब्रेकर राखिएको ट्राफिक प्रहरीको भनाइ छ । मुग्लिन–नरायणघाट सडक खण्डमा पुलको नजिक र पृथ्वी राजमार्गमा भने दुर्घटना हुने घुम्तीमा यस्तो प्रविधिको प्रयोग गरिएको छ ।
राजमार्गका संवेदनशील क्षेत्रमा ट्राफिक चिह्नलगायत सडक बत्तीको समेत व्यवस्था गरिएको छ । अहिले परीक्षणका रूपमा नौबीसे–मौवाखोला सडक खण्डमा पर्ने घाटबेसी र हुग्दी खोलाको घुम्तीमा स्पिड ब्रेकर राखिएको छ । पृथ्वी राजमार्गको धादिङ खण्डमा हरेक दिन १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने ट्राफिक प्रहरीले जनाएको छ ।
कसले फुटायो ‘कन्भेक्स मिरर’
दुर्घटना न्यूनीकरणका लागि पृथ्वी राजमार्गअन्तर्गत मुग्लिनदेखि नौबिसेसम्म १५ ओटा घुम्तीमा जडान गरिएका ‘कन्भेक्स मिरर’ तोडफोडका कारण सबै काम नलाग्ने भएका छन् । राजमार्गको जोखिमयुक्त घुम्तीहरूमा जडान गरिएका ‘कन्भेक्स मिरर’ कसले फुटायो भन्ने थाहा हुन सकेको छैन ।
मुग्लिनदेखि नौबिसेसम्मको करिब ८० किमिमा धेरै घुम्तीका कारण दुर्घटना बढेको भन्दै गत वर्ष मात्रै १५ वटा ‘कन्भेक्स मिरर’ राखिएको थियो । राजमार्ग मलेखुदेखि धादिङ सदरमुकामसम्मको १७ किलोमिटर का मोडहरूमा ५ ओटा ‘कन्भेक्स मिरर’ जडान भएका थिए । ‘कन्भेक्स मिरर’ जडानपछि घुम्तीहरूमा ओभरटेक गर्दा हुने दुर्घटनामा कमी आएको थियो ।
‘कन्भेक्स मिरर’ का कारण विपरीत दिशाबाट गाडी आएको छ, छैन सहजै चालकले हेर्न सक्थे । आजको कान्तिपुरमा खवर छापिएको छ ।